दसैँ र मासु एकअर्काका पर्यायजस्तै भइसकेको छ । दशैं लाग्नासाथ घरका भान्सामा मासु पाक्न सुरू भइसकेको छ ।
घरका भान्साहरुमा बोसोयुक्त र डढेपोलेका मासु पाक्दैछ भने आजबाटै रोक्नोस्, त्यस्ता मासुले क्यान्सर रोगको जोखिम पनि निम्त्याउन सक्ने विज्ञहरुले औँल्याएका छन् । उनीहरुले पोलेका, डढेका र बोसोले भरिएका मासु नखान सुझाव दिएका छन् ।
विज्ञहरुका अनुसार मासुसँगै खाइने मदिरा र सुर्तीजन्य पदार्थ सेवनले क्यान्सरको जोखिम अझ बढाउँछ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला शिवाकोटीले बोसोयुक्त मासु तथा डढेका र पोलेका मासुको सेवनले क्यान्सरको जोखिम बढाउने बताए ।
‘मासु होस् वा माछा त्यो पोलेको हो भने सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ’, प्रमुख शिवाकोटीले भने, ‘माछा वा मासु पोलेपछि त्यहाँ क्यान्सर बनाउने इन्जाइमहरु पैदा भएका हुन्छन्, यो अनुसन्धानबाट पुष्टि भएको कुरो हो ।’ उनले बोसोयुक्त र पोलेका मासुहरुले शरीरमा क्यान्सरको जोखिम बढाउन मद्दत गर्ने बताए ।
विज्ञका अनुसार पोलेको, डढेको र बोसोयुक्त मासुले पेटमा हुने विभिन्न खालका क्यान्सरको जोखिम बढी हुन्छ ।
उनीहरुका अनुसार पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गर्छ, जुन तत्वले शरीरमा क्यान्सर बनाउन सहयोग पु¥याउँछ ।
चाडबाडमा मानिसहरुले मासुसँगसँगै मदिरा, सुर्तीजन्य पदार्थ बढी सेवन गर्छन् । चिकित्सकहरुले यसलाई पनि हानिकारक भनेका छन् । मासु, मदिरा र सुर्तीजन्य पदार्थ एकसाथ खाँदा क्यान्सरको सम्भावना अझ बढ्छ ।
अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला शिवाकोटीले चाडपर्वमा सन्तुलित खाना खानुपर्ने सुझाव दिन्छन् ।
उनी भन्छन्, ‘चाडबाडमा कतिले दिनहुँ मासुमात्रै सेवन गर्छन्, यो अझ हानिकारक हुन्छ ।’ मासुका अलावा रेसादार हरियो सागपात, दूधका परिकार मिलाएर खाँदा स्वास्थ्यमा फाइदा पुग्ने उनी बताउँछन् ।
चिकित्सकहरुले बासी, सडेगलेका, गाडेका अचारहरु पनि सेवन नगर्न सुझाव दिएका छन् । शिवाकोटीका अनुसार ७० प्रतिशत क्यान्सर खानपानकै कारणले लाग्छ । विषादीयुक्त तरकारी तथा फलफूल सेवन नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।
पछिल्लो समय युवापुस्तामा पेटको क्यान्सर बढी हुने सम्भावना देखिएको छ । यसको प्रमुख कारण रक्सी, मासु र सुर्तीजन्य पदार्थ भएको हुनाले यसबाट टाढै रहन चिकित्सकको सुझाव छ ।




