ताजा समाचार

असाेज १५ गते २०७६

पोखरा वृद्धाश्रममा सिद्धार्थ क्लबको ‘उपचार कोष’

पोखराको सिद्धार्थ क्लबले पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा स्वास्थ्य उपचार सहयोग कोष स्थापना गरेको छ ।

बुधबार वृद्धाश्रममा आयोजित एक कार्यक्रममा वडाध्यक्ष तीर्थराज अधिकारी सामू क्लबका अध्यक्ष पार्वती माकाजू र वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले कोषको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिद्धार्थ क्लवले स्थापना गरेको २ लाख ७ हजारको अक्षयकोषको व्याज रकम वृद्धाश्रमले उपचार सहयोग कोषको नाममा प्रत्येक वर्ष प्राप्त गर्नेछ । क्लबले वृद्धाश्रममा सघाउने उद्देश्यले नै उक्त अक्षयकोष स्थापना गरेको बताइन्छ ।

क्लबले वृद्धाश्रमका लागि लामो समयदेखि निःशुल्क एम्वुलेन्स सेवा र शव वाहन सेवा उपलव्ध गराउँदै आएको थियो भने केही वर्ष अघि वृद्धाश्रममा खानेपानी ट्यांकी समेत निर्माण गरिदिएको क्लबकी अध्यक्ष माकाजूले जानकारी दिइन् ।

स्वास्थ्य उपचार सहयोग कोष सम्झौता कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जनताको हित बिनाको काम आफूले कहिल्यै कल्पना नगर्ने प्रतिवद्धता जनाए ।

पोखरा वृद्धाश्रमलाई जीवन्त राख्न आफूले धेरै कोणबाट सोचिरहेको भन्दै उनले वृद्धाश्रमको वैज्ञानिक डिपिआर तयार गरि थप व्यवस्थित र उच्चस्तरको बनाउने बताए । वडाध्यक्ष अधिकारीले आफ्नै कार्यकालमा वृद्धाश्रमका दीर्ककालीन गुरुयोजना बनाउने प्रतिवद्धता जनाए ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले सिद्धार्थ क्लब र वृद्धाश्रमबीच लामो समयदेखि नङ–मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले वृद्धाश्रमका लागि सरकारले केही सहयोग गरे पनि त्यो सहयोग पर्याप्त नभएको बताए । उनले दाताले दिएको सबै सहयोग सही सदुपयोग भएको स्पष्ट पारे ।

अध्यक्षको आशनबाट सिद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजूले वृद्धाश्रमका लागि अन्य सहयोग पनि लिएर आउने बताइन् ।

आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिषचन्द्र शर्माले अक्षयकोष र वृद्धाश्रममा भइरहेको गतिविधिमाथि प्रकाश पारेका थिए ।

असहाय कल्याणकारी संस्थाका कार्यसमिति सदस्य समेत रहेका शर्माले सिद्धार्थ क्लब एक विश्वासिलो संस्था रहेकोले विगतमा सिद्धार्थ क्लबलाई कोष स्थापनाका लागि रकम सहयोग गरेको बताए ।

उनले उक्त सहयोग रकममा रकम थप गरि बृद्धा आश्रममा उपचार कोष स्थापना गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्दै आफनो संस्थाको उद्देश्य पूरा हुनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा क्लबकी प्रथम उपाध्यक्ष तीर्थ श्रेष्ठले स्वागत, पूर्व अध्यक्ष सुमन श्रेष्ठले अक्षयकोषबारे जानकारी र सचिव ईन्दिरा मर्सानीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


Loading...