पोखरा–५, प्रर्स्याङस्थित केशर मेडिस्पाले विविध कार्यक्रम आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा केशर मेडिस्पाले अत्याधुनिक सुविधासहितको डेण्टल सेवा समेत शुभारम्भ गरेको छ ।
पोखराको चिल्ड्रेन पार्कमा वृक्षरोपण, वात्स्यायन वृद्धाश्रममा स्वास्थ्य सेवा प्रदान एवं औषधि वितरण गरेको केशर मेडिस्पाले निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम समेत वार्षिकोत्सवको अवसरमा आयोजना गरेको छ ।
कार्यक्रम एवं नयाँ प्रविधिको डेण्टल सेवा शुभारम्भ गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरे । उक्त अवसरमा सांसद थापाले केशर मेडिस्पाको सेवा लोकप्रिय बन्दै गइरहेको भन्दै गुणस्तरीय सेवामा थप ध्यान दिन आग्रह गरे ।

केशरको शुभसंकेत निकै राम्रो भएको भन्दै सांसद थापाले पोखरामा केशर जस्ता स्वास्थ्य संस्था र सेवा आवश्यक रहेको थियो त्यो पनि पूरा भएकोमा प्रशंसा गरे ।
लायन्स नेता ध्रुव श्रेष्ठले केशर मेडिस्पाले १ वर्षमै राम्रो सेवा दिएको भन्दै संस्थाले छिट्टै लामो फड्को मार्ने विश्वास व्यक्त गरे ।

समाजसेवी हेरम्वप्रसाद कोइरालाले युवाहरू स्वदेशमै बसेर काम गर्ने प्रयास गर्नु प्रशंसनीय भएको भन्दै घर–घरमै दिइने सेवा केशरको महत्वपूर्ण पाटो भएको बताए ।
संस्थापक अध्यक्ष डा. सुरेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक राजेन्द्रबहादुर सापकोटा, समाजसेवी भीम प्रसाद श्रेष्ठ, परशुराम अधिकारी लगायतले बोलेका थिए ।






