महेश राई दिउँसो एउटा रेस्टुरेन्टमा काम गर्छन् । बिहान जनप्रिय माविमा पढ्छन् । भोजपुर घर भएका महेशकी आमा पोखरामै तरकारी बेच्छिन् । गरिब परिवारका उनले रेस्टुरेन्टले अग्रीम पैसा दिएकाले कक्षा ११ मा भर्ना गरे तर एसइईको प्रमाणपत्र निकालेर बुझाउन सकेका छैनन् ।
पोखरा १७ को पार्दी माविबाट एसइइ गरेका उनीसँग स्कुलले प्रमाणपत्र शुल्क ३ हजार माग्यो । उनका ३ जना साथीले ३ हजारै तिरेर प्रमाणपत्र निकाले । बाँकीले निकाल्न सकेका छ्रैनन् । उनले भने, ‘३ हजार कसरी तिर्नु, भर्ना गर्दाकै १२ हजार ऋण छ ।’
यसअघि पनि पार्दीले मनपरी तवरले शुल्क दिँदै आएको थियो । पार्दीमै पढ्ने विद्यार्थीसँग ७ सय र बाहिरका स्कुलमा जाने विद्यार्थीसँग ३ हजार शुल्क लिइएको थियो ।
पोखरा महानगर शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले महानगरलाई प्रमाणपत्र शुल्क स्कुलले २ सय बुझाउनुपर्ने जानकारी दिए । प्रमाणपत्रको शुल्क कति लिने भन्ने महानगरको शैक्षिक नियमावलीमा उल्लेख नभएको र विद्यालय व्यवस्थापन समितिको बैठकले तोक्न सक्ने उनले बताए ।
पार्दी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोयानाथ लम्साल भने गत वर्ष २ हजार शुल्क लिइएकोमा यसपालि १ हजार थप गरिएको बताउँछन् । उनले भने, ‘बैठकै बसेर निर्णय गरेको त होइन, सल्लाह गरेर कार्यान्वयन गरिसकियो ।’ बैठकै नबसी बढाइएको शुल्क फेरि मंगलबारबाट घटाएर २ हजार बनाइएको छ ।
यसअघि पनि पार्दीले मनपरी तवरले शुल्क दिँदै आएको थियो । पार्दीमै पढ्ने विद्यार्थीसँग १ हजार १ सय र बाहिरका स्कुलमा जाने विद्यार्थीसँग ३ हजार शुल्क लिइएको थियो ।
सरकारी स्कुलहरुले विद्यार्थीसँग मनोमानी तवरले शुल्क उठाइरहेका छन् । एसइईकै प्रमाणपत्रका लागि राष्ट्रिय माविले चारित्रिक प्रमाणपत्रको ३ सय र राष्ट्रिय परीक्षा बोर्डले दिने प्रमाणपत्रको ५ सय लिने गरेको छ । भद्रकाली माविले चारित्रिक प्रमाणपत्रको ५ सय शुल्क लिने गरेको छ । शुक्रराज मावि पुम्दीभम्दीले चारित्रिक प्रमाणपत्र र राष्ट्रिय परीक्षा बोर्डले दिने प्रमाणपत्र दुवैको १ हजार शुल्क लिने गरेको छ ।

मनोमानी तवरले प्रमाणपत्रको शुल्क उठाएको गुनासो महाशाखामा नआएको महानगर शैक्षिक महाशाखा प्रमुख गुरुङ बताउँछन् ।
अनेरास्ववियुका नेता क्षितीज सापकोटा सरकारी स्कुलहरुले १ हजार, १ हजार ५ सयदेखि ३ हजारसम्म शुल्क उठाएको जनकारी आएको र यसबारे महानगरलाई अवगत गराइसकेको बताउँछन् । उनले भने, ‘हाम्रो काम जानकारी दिनेमात्र होइन, केही दिनमा कारवाही नगरे अनेरास्ववियुले नै कारवाही गर्छ ।’




