सवारी चालकलाई पोशाक वितरण

बागलुङमा सार्वजनिक सवारी साधन चलाउने सम्पूर्ण सवारी चालकहरुलाई पोशाक वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धौलागिरि गण्डकी यातायात सेवा प्रालि, धौलागिरि कालिका सेवा प्रालि, धौलागिरि ट्याक्सी यातायात सेवा प्रालि र बागलुङ भगवती यातायात सेवा प्रालिको आयोजनामा सवारी चालकहरुलाई पोशाक वितरण गरिएको हो ।

पोशाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पोशाकले सबै सवारी चालकहरुलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए ।

‘पोशाक भनेको व्यक्तिको पहिचान पनि हो, यसले गलत काम गर्नका लागि एक पटक सोच्ने बनाउँछ,’ उनले भने, ‘तपाईहरु सवारी चालकहरुलाई पनि यसले थप जिम्मेवार र पेशाप्रति इमान्दार बनाउने विश्वास गरेको छु ।’

गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० र गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउनका लागि सवारी चालकहरु सहयोगी बन्नुपर्ने बताए ।

मुक्तिनाथ जाने पर्यटकलाई बागलुङमा घुम्न आउने बनाउनका लागि सवारी चालकहरुको बोली व्यवहार महत्वपूर्ण हुने उनको भनाई छ । ट्राफिक नियमका पालना प्रहरीका लागि गर्दिने हो भन्ने नसोच्न उनले आग्रह गरे ।

सवारी चालक देशको सबैभन्दा जिम्मेवार नागरिक हुनुपर्ने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले सवारी चालकहरुलाई मर्यादित र जिम्मेवार बनाउने पोशाक वितरण गरिएको बताए ।

पोशाक वितरणसंगै अब चालकहरुमा मादक पदार्थ र लागुपदार्थको प्रयोग गरे नगरेको जाँचमा कडाई गरिने उनको भनाई छ ।

‘ट्राफिक नियमको पालना गराउन हामीले मापसे चेक गर्ने गथ्र्यौं, मापसे जाँच गर्न थालेपछि चालकहरु लापसे (लागुपदार्थ सेवन) तर्फ लागेको हामील थाहा पाएका छौं,’उनले भने,‘अब हामीले लापसे पनि जाँच गर्छौं । हामीले बोक्दैनौं क्यार प्रयोग गरेर मात्र के हुन्छ र भन्ने नसोच्नुस् ।’

धौलागिरि कालिका यातायात सेवा प्रालिका अध्यक्ष विष्णु अधिकारी, बागलुङ भगवति यातायात सेवा प्रालिका सचिव गोपाल पौडेलले सवारी चालकहरुले नै आफ्नो पेशालाई मर्यादित र गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिए ।

धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले चालकहरुलाई मर्यादित र जवाफदेही बनाउनुका लागि पोशाक प्रदान गरेको बताए ।