डेङ्गु जाँचमा कीटको प्रयोग रोक

स्वास्थ्य मन्त्रालयले डेङ्गु परीक्षणका लागि कीटको प्रयोगमा रोक लगाएको छ । देशभरका कतिपय अस्पतालहरुमा कीटको अभाव भनेर हल्ला पिटिएकोमा मन्त्रालयले आपत्तिसमेत जनाएको छ ।

सरकारले डेङ्गु परीक्षणमा कीटको प्रयोग गर्न रोक लगाए पनि चितवनका निजी तथा सरकारी अस्पतालले डेङ्गु कीटको प्रयोग गरिरहेका छन् । सहयोगी संस्थाहरुले अस्पताललाई कीट हस्तान्तरण गरिरहेका छन् ।

‘बिरामीले डेङ्गु कीटको प्रयोग गर्न आवश्यक छैन, त्यसैले रोक लगाएका हौँ’, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘डेङ्गु हो कि होइन भन्न कीट चाहिँदैन, यहाँ त रकम असुल्नकै लागि कीटको प्रयोग भइरहेको छ ।’

प्रमुख प्रशासक श्रेष्ठका अनुसार एक सय जनामा डेङ्गु देखियो भने ७० जनालाई केही पनि हुँदैन, २० जनालाई सामान्य रूघाखोकी लाग्छ, पाँच जनालाई सामान्य ज्वरो आउँछ । अरु पाँच जनालाई कडा ज्वरो आउँछ ।

‘डेङ्गुको कुनै ओषधि छैन, उही ज्वरोको औषधि (सिटामोललगायत) चलाउने हो, अनि किन चाहियो कीट ?’ प्रमुख प्रशासक श्रेष्ठले भने, ‘डेङ्गुबाट डराउनुपर्दैन, आत्तिनुपर्दैन, सिटामोलले समेत सञ्चो भएका छन्, यहाँ किन यसलाई डरलाग्दो बनाइएको छ ?’

उनका अनुसार संसारभर अहिले डेङ्गु फैलिएको छ । उनले भने, ‘थाइल्यान्डमा ५० हजारभन्दा बढी डेङ्गु संक्रमित छन्, एउटा कीटको प्रयोग गरिएको छैन, यहाँ किन कीटको अभाव भनेर हल्ला पिटिएको छ ?’

ब्राजिलमा १४ लाख, सिंगापुरमा १० हजार, फिलिपिन्समा डेढ लाख, श्रीलंकामा ३५ हजार बढी डेङ्गुबाट संक्रमित छन् । आठ लाख जनसंख्या रहेको भुटानमा आठ हजार बढी संक्रमित भइसकेका छन् । यी देशहरुमा एउटा कीटको प्रयोग नभएको उनी बताउँछन् ।

‘आवश्यक भए प्रयोग गर्ने हो, आवश्यक छैन भने किन प्रयोग गर्ने ?’ उनले प्रश्न गरे । कीटको अभाव भन्दै चर्को हल्ला पिटेर सर्वसाधारणलाई त्रास फैलाउन नहुने उनी बताउँछन् ।

उनका अनुसार डेङ्गुको न भ्याक्सिन, न औषधि नै छ, एचआईभी भए वा टिभी भए औषधि छ तर डेङ्गुको छैन । डेङ्गु–१, २, ३ र ४ गरी चार प्रकारका हुन्छन् । नेपालमा फैलिएको डेङ्गु २ हो ।

मन्त्रालयका अनुसार नेपालमा हाल अस्पताल पुगेका र नपुगेका गरी झन्डै एक लाखको हाराहारीमा डेङ्गु संक्रमित भएका छन् । अस्पतालसम्म पुगेका पाँच हजार बढी छन् ।