पर्यटक सवार डुंगा डुब्दा १२ जनाको मृत्यु

भारतस्थित आन्ध्रप्रदेशको पूर्वी गोदावरी जिल्लामा पर्यटक सवार डुंगा डुबेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

गोदावरी नदीमा भएको उक्त दुर्घटनामा परी ३१ जना बेपत्ता भएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार ९ क्रु मेम्बर र ५१ पर्यटक सवार उक्त डुंगा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेका १७ जनालाई बचाइएको छ । डुंगा प्रमुख पर्यटन स्थल पापीकोंडालुबाट अगाडि बढ्दै गर्दा कच्छलुरुको नजिक डुबेको हो । 

सरकारले बेपत्ताहरुको खोजीका लागि हेलिकोप्टरको मद्धत लिन निर्देशन दिएको थियो । पानी धेरै भएका कारण उद्धार कार्यमा समस्या भएको छ ।

मुख्यमन्त्री जगन मोहन रेड्डीले दुर्घटनामा मारिएकाहरुको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेका छन् । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।