खेलकूद विकास समितिमा पदाधिकारी नियुक्ति छिट्टै : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरूमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् ।

खेलकूद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए ।

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भने, ‘चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरू रिक्त रहन दिँदैनौँ ।’

खेलकूद ऐन आएलगत्तै प्रदेश सरकारहरूले आआफ्नो प्रदेशमा सङ्घीय संरचनाअनुसार खेलकूदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल संघहरू प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रूपमा अघि बढेको उल्लेख गरे ।

यही भदौ २६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले साग सञ्चालन व्यवस्थापन कार्यविधि मस्यौदा पारित गरिसकेको बताउँदै उनले आगामी असोज १० गतेभित्रमा खेलकूदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइने बताए ।

सागको आयोजनास्थल पोखरासमेत रहेकाले यहाँ पनि खेलकूदमा लागेका अनुभवी व्यक्ति र खेल संघका पदाधिकारीहरूलाई समावेश गरेर स्थानीय व्यवस्थापन सहजीकरण समिति गठन गरिने मन्त्री विश्वकर्माले बताए ।

राखेपका सदस्य राजेशकुमार गुरुङले सागको तयारीमा पोखरा जुटिसकेको बताउँदै पोखरा फुटबल रंगशालाको निर्माण सामग्री फ्रान्स र कोलकत्ताबाट आउन शुरु भएको जानकारी दिए ।

मञ्चका अध्यक्ष एकराज गिरीले प्रचारप्रसारको माध्यमबाट सागलाई सफल बनाउन पोखरेली पत्रकारहरू तयार रहेको उल्लेख गरे ।