थाहा नपाएरै हुन सक्छ बालबालिकाको आँखामा क्यान्सर

बालबालिकामा थाहा नै नपाएर लाग्ने रोग हो, रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर । यो क्यान्सर बालबालिकामा जन्मजात नै आउने क्यान्सर भएकाले जन्मेको केही सातादेखि ५ वर्षभित्र देखिन्छ । अझ विशेषगरी ३ वर्षमुनिका बालबालिकामा देखिने सम्भावना ९० प्रतिशत हुन्छ ।

यो क्यान्सर वंशाणुगत रुपमा देखिने हुन्छ । यो क्यान्सर आँखाको नानीको भागबाट पलाउने र अन्ततः आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ । साथै उपचार ढिलो भएमा शरीरको अन्य भागमा पनि फैलिएर ज्यानसमेत जानसक्ने हुन्छ ।

यदि यो रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर जन्मजात नै आएको छ भने कमै मात्र दुबै आँखामा देखिन्छ । तर पछि आएको छ भने एउटा आँखामा मात्र देखिन्छ ।

धेरैजसो बालबालिकालाई एउटा मात्र आँखामा असर पारेको देखिएको छ । हाम्रो आँखाको नानी सधैँ कालो हुन्छ । तर यो क्यान्सर हुँदा सुरुको अवस्थामा आँखाको नानीको बीच भागमा सेतो टिका (दाग) देखिन्छ । तर हामीले आफ्नो बालबालिका स्वस्थ्य छन् ।

राम्रोसँग खाइरहेका छन्, खेलिरहेका छन् । केही भएकै छैन भनेर वास्ता गर्दा थाहै नपाइ आँखाको क्यान्सर हुने र अन्धोपन हुन सक्छ । तर उनीहरुले बोल्न र भन्न सक्दैनन् । एउटा आँखामा समस्या देखिए पनि अर्को आँखाको सहाराले हेर्ने गर्छन् ।

त्यसैले अभिभावकले आफ्नो बच्चाको आँखामा कुनै समस्या छ कि भनेर घरमै पनि मोबाइल वा क्यामरा फ्ल्यासले तीनपटक विभिन्न एंगलमा दुबै आँखामा पालै पालो फोटो खिचेमा थाहा पाउन सकिन्छ । किनभने यो क्यान्सरको शुरुआती लक्षणमा १ आँखाको नानीमा सेतो टिका देखिन्छ । जुन फोटोमा यदि आँखाको नानीमा टिका छ भने त्यो भाग टल्किने हुन्छ ।

यो क्यान्सरको समयमा उपचार गरेमा ९० प्रतिशत निको हुन्छ । बालबालिकाहरुमा कुनै समस्या नआएसम्म उपचारका लागि लैजाने चलन छैन । तर समय समयमा कुनै पनि समस्या नआए पनि आँखा रोग विशेषज्ञ कहाँ लगेर आँखाको चेकजाँच गराउनु पर्छ ।

यो क्यान्सर २० हजार नवजात शिशुमध्ये १ जनामा देखा पर्दछ । विश्वमा यो रोग लागेर जन्मेका बच्चा करिब ८ हजार छन् । जसमा करिब २ हजार भारतका मात्रै छन् ।

हरेक वर्ष करिब ४० जना बालबालिकामा आँखाको समस्या लिएर आउने गरेका तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकले देखाएको छ । विकासोन्मुख देशमा यस क्यान्सरबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० रहेको छ । तर विकसित देशहरूमा १ प्रतिशत भन्दा कम रहेको पाइन्छ ।

यसका लक्षणहरू यस्ता छन् :
–आँखाको नानीको बीचमा सेतो दाग देखिनु ।
–आँखा बाङ्गो वा डेढो भएर जानु ।
–आँखा रातो हुने, चिप्रा नआउने ।
–खाना नखाने, नसुत्ने ।
–आँखाको आकार ठूलो हुनु
–आँखाको डल्लो बाहिर आउने ।

माथिका कुनै पनि लक्षण आफ्नो बच्चामा देखिएमा आँखा रोग विशेषज्ञकहाँ लैजानुपर्दछ । आँखा बिग्रेपछि वा धेरै दुखेपछि मात्र आउने गरेको पाइन्छ । अझ ग्रामिण क्षेत्रमा यो रोगका बारेमा जनचेतना नहुँदा छरछिमेकीलाई सोध्ने र औषधि पसलबाट आँखाको औषधि लिएर उपचार गर्ने गरेको देखिन्छ । जसले गर्दा आँखाको क्यान्सर गम्भीर अवस्थामा पुगेको देखिन्छ ।

जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिसहरुलाई पनि यस रोगको बारेमा जानकारी नहुँदा आँखा रातो हुँदा आँखा पाकेको भनेर औषधि दिने गरेको पाइन्छ ।

जसले निको नभएपछि अन्त्यमा उपचारका लागि आँखा रोग विशेषज्ञकहाँ जाने गरेको देखिन्छ । तर पछिल्लो समय जनचेतनाका कारण सहरी क्षेत्रबाट बालबालिकाको आँखाको नानीमा सेतो दाग देखिने बित्तिकै लिएर आउने गरेको देखिन्छ ।

अधिकांश अभिभावकहरुले आँखाको क्यान्सरका बिरामी बच्चाहरुलाई सुरुको समयमा बालरोग विशेषज्ञकहाँ लैजाने गरेका छन् । त्यहाँबाट रिफर भएर आउने गरेका छन् । आँखा क्यान्सर हुँदा आँखाको डल्लो बाहिर आउँदा स्नायु प्रणालीमा पुगेर मष्तिष्कमा पुगेको हुन्छ ।

त्यो अवस्थामा बालबालिकालाई बचाउन सकिँदैन । यो क्यान्सरबाट बालबालिकालाई बचाउन समय–समय आँखाको चेकजाँच गनुपर्छ ।

(लेखक तिलगंगा आँखा प्रतिष्ठानका कन्सल्टेन्ट एवं अकुलोप्लास्टिक सर्जन हुन्)