कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ ले मादी गाउँपालिका भौगोलिक रुपमा विकट र ठूलो भएकाले अवसर र चुनौती दुवै भएको बताएका छन् ।
उनले मादीमा अर्बाैंका योजना परेकाले सदुपयोग र खबरदारी गर्न पनि आग्रह गरे । सहर झरेकाहरू मन भएर पनि गाउँ फर्कने वातावरण नभएको बताउँदै उनले भावनात्मक एकतामा जोड दिए ।
तारकाङ–पोखरा सम्पर्क समाजको छैटौं साधारणसभा उद्घाटन गर्दै उनले मध्यपहाडी लोकमार्ग मादी गापा क्षेत्रमा पनि पर्ने भएकाले उक्त मार्गले तारकाङलाई सुगम बनाइदिने विश्वास व्यक्त गरे ।
‘तारकाङ उर्वर भूमि हो, हावापानी नै उर्वर शक्तियुक्त छ, यहाँ लोकमार्ग बनेपछि पनि घडेरी बनाउनेतर्फ मन लैजानै हुँदैन,’ उनले भने, सहर झरेकाहरुको सीप, क्षमता र लगानी उपयोग गरी उत्पादन क्षेत्रमा लाग्नुपर्छ ।’
अध्यक्ष गुरुङले विकासमा राजनीतिक आग्रह पूर्वाग्रह नराख्ने प्रतिबद्धता जनाउँदै मादी गापा केन्द्र जाने बाटोमध्ये ११ किमी कालोपत्रे गर्न टेन्डर भएको तर सम्झौता नभएको उल्लेख गरे ।
नेपाली कांग्रेस मादी गाउँपालिका सभापति देवीजंग गुरुङले अहिलेका जनप्रतिनिधिका आचरण सही नहुँदा नयाँ राजनीतिक व्यवस्थामा नै खतरा बढेको आरोप लगाए ।
उनले गाउँपालिका भौगोलिक विकटतासँगै पर्यटन व्यवसायको सम्भावना देखाउँदै पूर्वाधार विकासमा लाग्न जनप्रतिनिधिलाई सुझाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की सदस्य बृहस्पति सापकोटा, मादी ४ का अध्यक्ष सत्यराज सापकोटा, मादी ७ का अध्यक्ष लालबहादुर गुरुङ, रेडक्रस सोसाइटी कास्कीका उपसचिव खेमराज सापकोटा, संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा ‘रवि’, ध्रुव माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटा, आजीवन सदस्य शारदा सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रममा समाजका आजीवन सदस्य भएका ध्रुव मावि तारकाङका प्रअ शुक्रराज सापकोटा, सीताराम मावि याङ्जाकोटाका प्रअ रुद्रनाथ सापकोटा, अमरज्योति गाउँफर्क मावि जल्धारेका प्रअ दामोदर सापकोटालाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट योगदान गरेका आजीवन सदस्य हेमराज सापकोटा र शालिकराम देवकोटा पनि सम्मानित भए ।
साथै एसइईमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आजीवन सदस्यका ५ जना सन्तानलाई सम्मान गरको छ । सम्मानित हुनेमा सागर सापकोटा, दिवस सापकोटा, असीम सापकोटा, सुशान्त सापकोटा र आशीष सापकोटा छन् ।
सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरी सापकोटाले स्वागत र सचिव नेत्र तिमिल्सिना र सहसचिव शरद सापकोटाले सञ्चालन गरेका थिए ।
साधारणसभाले कोषाध्यक्ष घननाथ सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, सचिवले प्रस्तुत गरेको प्रतिवेदन र खेमराज सापकोटा संयोजक रहेको विधान संशोधन समितिले पेश गरेको संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ ।




