टानको स्थापना दिवस : मानव सेवा आश्रममा सहयोग र संस्थापकसंग भेट

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले २७ औं स्थापना दिवस मनाएको छ ।

संघले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमका वृद्धवृद्धा, असहाय र अशक्तसँग स्थापना दिवस मनाएको छ ।

आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस र नगद सहयोग गरेर संघले स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

उनले मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै पनि केन्द्रविन्दुमा राखेर सामाजिक सेवा भावबाट अग्रसर हुनुपर्ने खाँचो औंल्याए ।

आश्रमका बुबा आमाको अनुहारमा सानो खुशी ल्याउन मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताए ।

आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव–मानव बीचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताए । एकअर्काप्रतिको माया र सम्मान तथा मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उनको भनाई थियो ।

संस्थापकको सम्झना
वार्षिकोत्सवको अवसरमा टानले संस्थाका संस्थापकको समेत सम्झना गरेको छ । अध्यक्ष भूजेल नेतृत्वको कार्यसमितिले संस्थापंक अध्यक्ष रामबहादुर श्रेष्ठलाई भेट गरी सम्मानभाव व्यक्त गरेको उपाध्यक्ष सुशिल पौडेलले बताए ।

‘इतिहास विर्सनु हुँदैन, अग्रजको योगदानकै कारण संस्थाले आज २७ औं स्थापना दिवस मनाउन सफल भएको हो’, पौडेलले भने ।

टानको टोली घरमा पुग्दा लामो समयदेखि बिरामी भएका संस्थापक अध्यक्ष श्रेष्ठ भावुक भएका थिए । उनले २७ वर्ष पछि पनि संस्थाले आफूलाई सम्झेकोमा निकै खुशी व्यक्त गरे ।