अमेरिकाको मिसौरी हाइवेमा गएको मंगलबार सवारी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
स्थानीय जोप्लीन प्रहरी डिपार्टमेन्टका क्याप्टेन निक जिमेनीजले जनाए अनुसार ब्लु स्प्रिङ्गमा बस्ने प्रभास ओझाले चलाएको टोयोटा आरएभी ४ गाडी टोयोटा पिकअप ट्रकसँग ठोक्किएर सो घटना भएको हो ।
ओझा र उनका ४ वर्षिय छोरालाई स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । बालकको अवस्था जोखिममा रहेको जनाइएको छ । प्
रभासको अवस्था स्थिर रहेको प्रहरीले बताएको छ । बच्चाकी आमा श्रद्धा ओझा खनाल जो टोयोटा आरएभी४को अगाडिको सिटमा बसेकी थिइन्, उनलाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो ।
पछाडिको सिटमा बसेका सो परिवारका हजुरबा र हजुरआमा नेपालबाट गएका थिए । उनीहरुको पनि मृत्यु भएको छ ।
मृत्यु हुनेमा हजुरआमा शान्ता खनाल र हजुरबा गोविन्द खनाल भएको जनाइएको छ । ट्रक ड्राइभरको नाम भने खोलिएको छैन । सो घटना अनुसन्धानमा रहेको स्थानीय जोप्लीन प्रहरी विभागले जनाएको छ । (जोप्लिन ग्लोब डटकम)




