४० हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमंगले तरंगित भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे ६ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो ।
जम्मा १ सय ४९ यात्रु लिएर जापान ओर्लिएको नेपाली जहाजले विमानस्थलमा छुट्टै आकर्षण पैदा गर्यो । जापानी मात्र नभई अन्य मुलुकका यात्रुहरूलाई पनि केहीबेर ध्यानआकृष्ट गरायो ।
निगमका क्याप्टेनद्वय एमएम डंगोल र श्रवण रिजालको नेतृत्वमा १० सदस्यीय चालकदलका सदस्यले २ सय ७४ सिट क्षमताको ‘मकालु’ नामकरण गरिएको वाइड बडी जहाज जापानमा सफलताका साथ अवतरण गराएको हो ।
कन्साई विमानस्थलमा जहाज अवतरणपछि प्रफुल्लित मुद्रामा देखिएका कप्तान रिजालले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलमा विमान अवतरण गराउनु कुनै असहज नभएको र यसले नेपाली विमान चालक संसारका प्रतिष्ठित चालकभन्दा कम छैनन् नेपालीले पनि आकाश यात्रामा विश्वलाई प्रतिस्पर्धा गर्न सक्छन् भन्ने दरिलो सन्देश प्रस्तुत गरेको उल्लेख गरे ।
नेपाली समयअनुसार भदौ १२ गते राति २ बजेर ३८ मिनेटमा उडेको जहाज बिहान ९ बजेर ३ मिनेट अर्थात जापानको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर ३० मिनेटमा अवतरण भएको थियो । प्रतिकूल मौसमका कारण पनि जहाजलाई चालकले कुशलतापूर्वक अवतरण गराएका थिए ।
बाक्लो कुहिरी मण्डल बादलभित्र छिर्दा जहाज निकै हल्लिएको थियो । नेपालदेखि जापान उडानसम्मै मौसमको अनुकूलता देखिएन । तर पनि नेपाली पाइलटले अदम्य साहसका साथ जहाजलाई सफलताका साथ गन्तव्यमा पुर्याए ।
मौसमले साथ दिने हो भने काठमाडौं ओसाका उडान रुट प्राविधिक हिसाबले कुनै कठिनाइ नहुने कप्तान रिजालको भनाइ छ । उनका अनुसार ३९ हजारदेखि ४१ हजार फिट उचाइमा वाइड बडी उडाइएको थियो । जहाज काडमाडौं इण्डियन एक्सप्रेस हुँदै बंगलादेश पुगेर पुनः म्यानमा, चीन, दक्षिण कोरिया हुँदै जापान पुगेको थियो ।
झण्डै १२ वर्षको अन्तरालपछि निगमले जापानको ओसाका सिधा उडान शुरु गरेको हो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । सो बेलाको उडान काठमाडौं र चीनको सांघाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।
नयाँ गन्तव्यमा उडान गर्दा शुरुमा समस्या हुने भएपनि उडान निरन्तरता भए भविष्यमा राम्रो हुने निगमको अपेक्षा छ । निगमले शुरुमा भारतको मुम्बई र थाइल्याण्डको बैंकक उडान गर्दा निगमलाई बजार हिस्सा ओगट्न झण्डै १ वर्ष लागेको थियो ।
निगमले साताको ३ दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर २ तर्फी रु ७२ हजार ८ सय र एकतर्फी रु ३७ हजार निर्धारण गरेको छ ।
नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवर्द्धन गर्न सेप्टेम्बर महीनाभर प्रत्येक उडानमा यात्रुहरूबीच गोलाप्रथा गराइनेछ र १ जनालाई उपहारस्वरूप १ निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिने निगमको विज्ञप्तिमार्फत जनाइएको छ ।
जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कम्तीमा पनि वार्षिक ४० हजार पर्यटक भित्र्याउने निगमले जनाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८ सय १७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
जापानपछि चीन, साउदी अरब र दक्षिण कोरियामा उडानका लागि पहल भइरहेको निगमले जनाएको छ । ती मुलुकमा आगामी जनवरीदेखि उडान गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।-रासस





