यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएका छन्। साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरेको छ । यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
घाइतेहरुको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यो स्थानमा अन्तर्राष्ट्रिय रेडक्रसका पदाधिकारीले पनि बेलाबखत भ्रमण गरिसकेका थिए ।
रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहका बारेमा रेडक्रस र साउदी गठबन्धन दुबैलाई राम्रोसँग थाहा थियो । हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झण्डै १७० जना सैनिकहरु केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो ।
साउदी गठबन्धनले भने धमारमा हुथी समूहका केन्द्रहरुलाई लक्षित गरी हवाई कारबाही गरिएको दाबी गरेको छ । हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरुमा आक्रमण गरेको बताएको छ ।
धमार राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको छ । धमार र साना सहित उत्तरी प्रान्तहरुमा हुथी विद्रोहीले सन् २०१४ देखि नियन्त्रण कायम गरेका छन् । यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडी र उनको सरकारलाई सानाबाट हुथी विद्रोहीहरुले विस्थापित गरेका छन् ।





