महिलाले कानुन नबुझ्दा समस्या : उपमेयर गुरुङ

पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महिलाले कानुन नबुझदा समस्यामा पर्ने गरेको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. १ ले आयोजना गरेको समाजशास्त्रीय दृष्टिकोणमा हाम्राा चाडवर्प र यसको सामाजिक महत्व तथा महिलाका लागि कानुनी सचेतना अभिमुखीकरण कार्यक्रममा उपमेयर गुरुङले कानुनी सचेतना नहुँदा आफ्ना अधिकार बारे बेखवर भएको बताइन् ।

उनले संविधानमा महिलाका धेरै अधिकार लेखिएका भए पनि त्यसबारे जानकारी नभएको बताइन् । ‘महिलाका धेरै अधिकार प्राप्त भएका छन्, अब ती अधिकारको कार्यान्वयनका लागि महिलाहरू एकजुट हुनुपर्छ ।’

गुरुङले महिलाका मुद्धा साझा भएकाले सबै एकजुट हुनुपर्नेमा समेत जोड दिइन् । ‘हामी जुनसुकै पार्टीमा भए पनि हाम्रा मुद्धा साझा छन्’, उनले भनिन, ‘हिजो हामी जुनसुकै पार्टीबाट उम्मेदवार भएको भए पनि अब हामी जनप्रतिनिधि हौं । साझा भएर काम गर्नुपर्छ ।’

उनले नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश भएको बताउँदै आआफना संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन, ‘धनसम्पत्ति कमाउन सकिन्छ तर संस्कृति लोप भए जोगाउन कठिन हुन्छ । त्यसैले धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा प्रा.डा. विश्वकल्याण पराजुलीले समाज शास्त्रीय दृष्टिकोणमा हाम्रा चाडपर्व र त्यसको सामाजिक महत्व बारे बोल्दै समय अनुसार परिर्वतन हुने चार्ड पर्व मनाउने चलन बढ्दै गएको बताए । उनले नेपालका सबै चाड पर्वको महत्व रहेको बताउँदै धार्मिक, सामाजिक र मानवशास्त्रीय हिसावले आआफनै मौलिक महत्व बोेकेको बताए ।

अधिवक्ता भगवती पहारीले कानुनीको पालना गर्ने दायित्व सबै नेपालीको भएको बताउँदै परिर्वतित कानुका बारेमा जानकार हुनुपर्ने बताइन् । उनले नयाँ कानुनी व्यवस्था र महिलाका अधिकारका प्रावधान र कानुनी व्यवस्था बारे जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्रा.डा. चन्द्र भद्राले महिलाले कानुनी व्यवस्था, बजेट लगायतका बारेमा चासो राख्नुपर्नेमा जोड दिइन् ।

वडा नं. १ का अध्यक्ष शारदा पराजुलीले महिलाहरू सचेत र सजग हुँदै कानुनका विषमा जानकार बन्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रेमदेवी परियार, वडासचिव कुलप्रसाद पौडेल लगायतले बोलेका थिए । सोही कार्यक्रममा पोखरामा फैलिएको डेंगु रोगका विषयमा समेत जानकारी दिइएको थियो ।