कृष्ण जन्माष्टमीको दिन एक आगन्तुकले दिएको विषाक्त पेडा खाएपछि बिरामी भएका कारण अस्पताल भर्ना गरिएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई गत शुक्रबार पतञ्जली योग पीठ हरिद्वारामा त्यस खालको पेडा खुवाइएको थाहा भएको छ ।
उनी भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य सामग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गर्दै आइरहेका थिए । उनलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्तिका रुपमा समेत उल्लेख गरेको थियो ।
उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको छ ।
स्वास्थ्य अवस्थामा सुधार भएपश्चात् उनी नियमित काममा फर्किए पनि पतञ्जलीआवद्ध उच्च अधिकारीहरूले बालकृष्णको स्वास्थ्यमा अचानक देखिएको समस्यालाई षड्यन्त्रका रूपमा लिएको बीबीसी नेपाली सेवाले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आचार्य बालकृष्णलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
ऋषिकेश नै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पतञ्जली नेपालका सञ्चालक शालिकराम सिंहले पतञ्जलीलाई समाप्त पार्ने उद्देश्यले आचार्य बालकृष्णलाई निसाना बनाइएको आफूहरूले ठानेको बीबीसीसँगको कुराकानीमा बताएका छन् ।
उनले भनेका छन्, “एकजना पूर्वकर्मचारीले कार्यालयमा गएर दिएको पेडा खाएको पन्ध्र मिनेटपछि उहाँले अप्ठेरो महसुस गर्न थाल्नुभयो । हातहरू बाङ्गोटिङ्गो घुमाउन थालेपछि उहाँलाई तत्कालै नजिकै रहेको पतञ्जलीको अस्पतालमा लगियो । त्यहाँ चिकित्सकहरूले खानेकुरा विषाक्त भएको हुनसक्ने भन्दै बान्ता गराए र थप उपचारका लागि एम्स अस्पतालमा लैजान सुझाव दिए ।”
उनी शनिवार नै अस्पतालबाट फर्किए पनि आइतबारबाट मात्रै उनले नियमित रूपमा खानेकुरा खान थालेको सिंहले बताएका छन् । उनको स्वास्थ्य उपचारको क्रममा गुरु रामदेव पनि खटिइएका थिए । टाइम्स अफ इन्डियाले जनाएअनुसार आचार्य बालकृष्णलाई दिइएको उक्त मिठाइको अवशेष फरेन्सिक जाँचका लागि दिल्ली पठाइएको छ ।
पतञ्जली आयुर्वेदका संस्थापक अध्यक्ष बालकृष्णका मातापिता नेपाली हुन् । उनीहरू काम गर्न भारत गएका बेला आफू भारतमा जन्मिएको आचार्य बालकृष्णको दाबी रहँदै आएको छ । पतञ्जली ट्रस्टका संस्थापक महासचिव रहेका उनले पतञ्जलीमार्फत् उत्पादन हुने आयर्वेदिक औषधि र दैनिक उपभोग्य सामग्रीसहित सम्पूर्ण व्यावसायिक पक्ष हेर्ने गरेको बताउँदै आएका छन् ।
आचार्य बालकृष्णले हिजो गरेको ट्विटमा तपाईँहरु सबैको भावना र प्रार्थनाका लागि कृतज्ञता अब हामी थप दृढता र उर्जाका साथ मानव सेवादेखि राष्ष्ट्र सेवा गर्ने संकल्प गर्छौ भन्ने व्यहोरा लेखेका छन् ।





