ल्याण्डफिल्ड साइटकी सविनाले पाइन् संरक्षक

फोहरको थुप्रोमा आफ्नो भविष्य खोज्दै गरेकी पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडाकी सुबिना थापा मगरले अविभावक पाएकी छिन् ।

उनले अबदेखि ल्याण्डफिल्ड साईटमा भविष्य खोज्नुपर्ने अवस्था रहेन । उनलाई मितेरी नारी समूहले पढाई दिने भएको छ ।

पोखराको रामेश्वरी सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी सुबिना आफूले थाहा पाउने भएदेखि नै प्लाष्टिक संकलन गरी बिक्री गर्ने गर्थिन् ।

आर्थिक अवस्था विपन्न, बाबु आमा दुवै मजदुरी गर्छन् । १ बैनीलाई गत वर्षदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बालबालिकालाई विद्यालय भर्ना अन्तर्गत पढाउँदै आएका छन् ।

तीजको अवसर पारेर मितेरी नारी समूहले पोखराको वसुन्धरा पार्कमा आयोजना गरेको शुभकाना आदानप्रदान कार्यक्रममा सुविनालाई पढाउने जिम्मा लिएको हो ।

मितेरी नारी समूहले बालिका सुविनालाई उच्च शिक्षासम्म पढाउने गरी अक्षयकोष समेत खडा गरेको छ । ‘२ लाख अक्षयकोष राखिएको र आवश्यक्ता परे थप्दै जानेछौं’, समूहकी अध्यक्ष मिरा पौडेलले भनिन् ।

कार्यक्रममा खाजा, शैक्षिक सामाग्री तत्काल खरिद गर्नका लागि बालिकालाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । उनको स्कुल फि र अन्य लाग्ने शुल्क पनि तिर्ने बताईन् ।