ताजा समाचार

भाद्र २ गते २०७६

पोखरामा फैलियो डेंगु

केही वर्षअघिसम्म भारतमा डेंगुको महामारी थियो । यो अहिले नेपालका लागि पनि समस्या बनेको छ । पोखरामा डेंगुको प्रकोप फैलिएको छ । अहिलेसम्म १ सय १ जनामा यो रोग पहिचान भइसकेको छ भने पहिचान नभएका सयौं हुन सक्ने बताइन्छ ।

निर्माण सामग्री तथा अन्य वस्तु तराइ हुँदै पहाडी बस्तीमा ल्याइन्छ । तराइ र पहाडमा कामका लागि मान्छेको ओहोरदोहोर हुँदा ड़ेंगु, मलेरिया, कालाजार जस्ता रोग अब तराइमा मात्र सिमित छैनन् । पहाडका घना बस्ती तथा पोखरा, काठमाडौं जस्ता सहरमा यी रोगको नफैलिऊन भनी चेतना जगाउनु जरुरी छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमका अनुसार आइतबारसम्म कास्कीमा १०१ डेंगु रोगीको पहिचान भइसकेको छ । धेरैजसो बिरामी पोखराका हुन् भने अधिकांश कास्कीकै बासिन्दा हुन् । पोखराका वार्ड ८, ९ र १७ मा धेरै बिरामी पहिचान भएको डा. गौतम बताउँछन् । मुख्य सहरी क्षेत्र र जनघनत्व पोखरा ८ र ९ मा बढी छ । दिनहुँ सचेतना कार्यक्रम भाइरहेको र टोल टोलमा समूह बनाएर सचेत गराएकाले थोरैमा मात्र रोग देखिएको डा. गौतम बताउँछन् ।

पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल वडाका सबै आमा समूह, टोल विकास संस्थाका सदस्यलाई डेंगु रोगको बारेमा सचतेना, गोष्ठी गरिएको बताए । रोगबारे प्रचार सामग्री वितरण, टोल टोलमा सचेतनामूलक ब्यनर, माइकिङ गर्ने र अनुगमन गरी पानी जम्ने र लामखुटे हुन सक्ने ठाउँमा नष्ट गर्ने काम भयको छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे डेंगु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने बताउँछन् । उनले भने, ‘यो तीव्र संक्रमण हो । जसमा टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नीहरूमा धेरै दुख्ने, ग्रन्थीहरू सुन्निने र शरीरमा बिमिरा निस्कने जस्ता लक्षण देखिन्छन् ।’ ज्वरो, बिमिरा र टाउको दुखाई यी तीन लक्षणलाई डेंगुको त्रिभुज मानिन्छ । यसबाहेक डेंगुमा गिजाबाट रगत आउने, आँखापछाडि असह्य पीडा हुने तथा हत्केला र पैताला राता हुन्छन् । यो रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई सजिलै लाग्न सक्छ ।

यो ४ प्रकारका भाइरसका प्रजातिमध्ये दुई वा सोभन्दा बढीको संक्रमणबाट लाग्छ । कतिपयलाई एक पटक डेंगु आएपछि शरीरमा प्रतिरोधी क्षमता विकास भएर पुनः नदोहोरिन पनि सक्छ । यो रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भनिन्छ ।

लामखुट्टेले टोकेपछि ३ देखि ८ दिनभित्र डेंगुका लक्षण देखा पर्छन् । यो रोगमा सुरुमा जाडो हुने, टाउको दुख्ने, आँखा घुमाउँदा दुख्ने, ढाड दुख्ने तथा खुट्टा र जोर्नीमा दुख्ने हुन्छ । शरीरको तापक्रम एकाएक बढेर १ सय ४ डिग्रीसम्म पुग्छ तर हृदयको गति, नाडीको गति र रक्तचाप भने कम हुन्छ । आँखा राता हुन्छन् । अनुहारमा साना डाबर आउँछन् र स्वतः हराउँछन् । छाती र काँधबाट सुरु भएका बिमिरा हातखुट्टा तथा सम्पूर्ण शरीरमा फैलिन्छन् । तर, अनुहारमा आउँदैनन् । हत्केला तथा पैताला राता र सुन्निएका हुन्छन् । साधारण खालको डेंगुको मृत्युदर निकै कम (करिब १ देखि ३ प्रतिशत) हुन्छ । तीव्र अवस्थाको ज्वरो र दुखाइ १ देखि २ सातासम्म रहन सक्छ । कमजोरीका कारण पूरा निको महसुस गर्न केही साता लाग्न सक्छ । रक्तस्रावजन्य डेंगु ज्वरो बढी मात्रामा १० वर्षमुनिका बच्चालाई लाग्छ । पेट दुख्ने, रक्तस्राव हुने, रक्तसञ्चार अवरुद्ध हुने, स्वर बस्ने, खोकी लाग्ने, वान्ता हुने र केही दिनपछि बेहोस हुनेसम्म हुन्छ । साथै, निमोनिया एवं मुटु सुन्निनेसमेत हुन सक्छ ।

डेंगु ज्वरो डेन १, डेन २, डेन ३ र डेन ४ नामका चार प्रकारका हुन्छन् । यो रोगको भाइरस एडेस एजिप्टी र एडेस अल्बोपिटस नामका पोथी लामखुट्टेबाट मानिसमा सर्छ । रक्त परीक्षणमा प्लेटेलेट्सको संख्या घटिरहनु तथा रक्तकण सामान्यभन्दा २० प्रतिशतले बढ्छ ।

डेंगु विरुद्ध प्रभावकारी खोप आइसकेको छैन । यस्तै डेंगु ज्वरो भाइरल संक्रमण भएकाले यसको ठोस उपचार पनि छैन । ज्वरो आदिको लाक्षणिक उपचार, आराम तथा प्रशस्त मात्रामा झोल पदार्थ सेवन एवं अस्पतालमा भर्ना गरेर सलाइन दिने गरिन्छ ।

यसको रोकथामका लागि झुलको प्रयोग सजिलो उपाय हो । यो रोगबाट बच्न लामखुट्टे नियन्त्रण गर्नुपर्छ । घरवरपर जमेको पानी, फोहोर, टिन, बोतल, बालटिन, फूलबारीको गमलाको पानी, माटाका भाँडा, टायर, पाइप, खाल्टाखुल्टी, पानीको ड्रम आदि यो लामखुट्टेको आश्रयस्थल हुन् । यी सामग्री तथा स्थानको उचित व्यवस्थापन गरी पानी जम्न दिनु हुँदैन । घरभित्र, बाहिर तथा टोलमा मालाथिन, डीडीटीजस्ता कीटनाशक औषधी छर्नुपर्छ । व्यक्तिगत सुरक्षाका लागि लामखुट्टे धपाउने बडीस्प्रे प्रयोग गर्ने तथा सकभर शरीरलाई छोप्ने खालका लामबाहुले कपडा लगाउनुपर्छ । सम्भव भएसम्म सूर्योदयको २ घन्टासम्म र सूर्यास्तपछि घरभित्रै बस्नु उचित हुन्छ । डेंगुको लामखुट्टेले दिउँसो टोक्छ । यसले टोक्ने सम्भावना सूर्योदयदेखि र सूर्यास्तसम्म बढी हुन्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...