विवाहस्थलमा बम बिस्फोट, दर्जनौं मारिएको आशंका

अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए । यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो ।

प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका छन् । सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ । अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

आत्मघाती हमलाः

हालैका दिनमा अफगानिस्तानमा थुप्रै ठूला आत्मघाती हमला भएका छन् । यो महिना काबुलको बाहिरी इलाकामा एक पुलिस चौकीलाई निशाना बनाएर गरिएको ट्रक बम हमलामा १४ जना मारिएका थिए । यसमा १५० बढी मानिस घाइते भएका थिए ।

उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।  एकातर्फ जहाँ तालिबान र अमेरिकाबीच अफगानिस्तानमा युद्ध समाप्त गर्ने विषयमा वार्ता भइरहेको छ भने अर्कोतर्फ यस्ता ठूला हमला भइरहेको छ । रिपोर्टका अनुसार अमेरिका र तालिबान चाँडै नै शान्ति सम्झौताको घोषणा पनि गर्न सक्छन् ।