चलचित्र नचल्नुमा ‘निर्माण पक्ष दोषी’ : नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् । चलचित्रको निर्माण नै फितलो भइदिँदा यस्तो समस्या आएको उनको बुझाई छ । पछिल्लो समय एकपछि अर्को चलचित्र फल्प हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् ।

‘चलचित्र निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउँदैन’, शुक्रबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा नम्रताले भनिन् । नम्रताका अनुसार अहिले कतिपय चलचित्र रिसर्च बिना बनिरहेका छन् । दर्शकले चाहेको जस्तो चलचित्र निर्माण नभएको उनले बताइन् ।

भदौ ६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुँदै गरेको नम्रता मुख्य अभिनित चलचित्र जाइराको प्रचारप्रसारका लागि पोखरा आएकी उनले आफ्नो फिल्म भने दर्शकको चाहना अनुसारको रहेको दाबी गरिन् ।

मिक्स मार्सल आर्ट भूमिकामा नारी प्रदान कथामा आधारित चलचित्रमा महिलाको आरोह–अवरोहलाई प्रस्तुत गरिएको उनले बताइन् ।

यो चलचित्रका लागि नम्रताले ८ महिनाको मार्सल आर्ट तालिम समेत लिएकी छिन् । अर्थात यो भन्न सकिन्छ चलचित्र जाइरामा नम्रता मार्सल आर्ट खेल्ने केटीको भूमिकामा देखा परेकी छिन् ।
‘जाइराको सुरुमा उनलाई अफर आउँदा सक्दिन कि जस्तो लागेको थियो । निर्देशक आशुतोषराज श्रेष्ठले मेरै लागि चलचित्रको कथा तयार पारेका रहेछन् । कथाको स्क्रिप्ट पढ्दै जाँदा मन पर्यो अनि तयार भए’, उनले भनिन् ।

साथीहरुबाट एक्सन चलचित्र नगरे हुन्छ भन्ने प्रतिक्रिया आउँदा पनि नम्रता पछि हटिनन् । जाइरामा नम्रता लिडरोलमा छिन् । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा सम्राट नम्रताको गुरुको रुपमा प्रस्तुत भएका छन् ।

नम्रतालाई मार्सल आर्ट सँगै फिटनेस बनाउने भूमिकामा उनी छन् । आफू प्रोफसनल लाइफमा पनि फिटनेस ट्रेनर भएकाले चलचित्रमा अभिनय गर्न सरल भएको सम्राटले बताए । ‘मेरो रियल लाइफ क्यारेक्टरलाई चलचित्रमा प्रस्तुत गरिएको छ’, उनले भने ।

नम्रतालाई चलचित्रका लागि ट्रेनिङ गराउँदा सुरुमा साह्रै गाह्रो भएको किस्सा उनले सुनाए । ‘महिलालाई फिटनेस ट्रेनिङ गराउन साह्रै गाह्रो हुनेरहेछ’, उनले भने, ‘सुरुमा मलाई लागेको थिएन । नम्रताले गर्न सक्लिन भनेर तर पछि उनमा निखारपन आउँदै गयो ।’

चलचित्रमा नम्रताको भूमिका प्रशंसा गर्ने लायक रहेको उनको भनाई थियो । चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन उनले दर्शकलाई आग्रह गरे । कलाकार प्रमोद अग्रहरीले जाइरामा आफ्नो नेगेटिभ भूमिका रहेको बताए । आफूले चलचित्रमा निर्देशकको इमेज अनुसारको काम गरेको उनले सुनाए ।

पत्रकार सम्मेलन कार्यक्रममा कलाकार सुजता श्रेष्ठको पनि उपस्थिति थियो । नम्रताको आफ्नै ब्यानरबाट निर्माण भएको जाइरामा नम्रताकै लगानी छ । चलचित्रमा सिर्जना रेग्मी, रेमन दासको पनि भूमिका छ ।

पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा भएको हो ।