ताजा समाचार

श्रावण ३१ गते २०७६

भारत र पाकिस्तानबीच गोली हानाहान

जम्मू कश्मीरको विषेशाधिकार खारेज भएपछि भारत पाकिस्तानबीच तनावमा अवस्था रहेको छ । दुबै देशले सिमा क्षेत्रमा सैन्य गतिविधि बढाएका छन् भने भारतले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै पाकिस्तानले सिमामा सैनिक विमानसहित अत्याधुनिक हतियार र सेना परिचालित गरेको छ । यसबीच भारत पाकिस्तानबीच दोहोरो भिडन्त भएको छ ।

पाकिस्तानी सेना मेजर जनरल आशिफ गफूरले ट्वीटरमाफर्त एलओसीमा भारत पाकिस्तानबीच दोहोरो भिडन्त भएको उल्लेख गरेका छन् । एलओसीमा भारतीय सैनिकले घुुसपैठ गर्न खोजेको र सोही क्रममा भिडन्त भएको बताएका छन् ।

उनले उक्त भिडन्तमा ३ पाकिस्तानी सेना र ५ भारतीयको मृत्यु भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले थुप्रै भारतीय सेना पनि घाईते भएको उल्लेख गरेका छन् । तर भारतले भने उनको कुरालाई खण्डन गरेको छ। भारतले पाकिस्तानी सेना मारिएको पुष्टी गरे पनि आफनो ५ सेना मारिएको भने अस्वीकार गरेको छ ।

भारतले स्वतन्त्रता दिवसमा पाकिस्तानले युद्धविरामको उल्लघंन गरेका र त्यसको कडा जवाफ दिएको पनि जनाएको छ । अगस्ट १४ मा पनि भारत पाकिस्तानबीचको सिमामा भिडन्त भएको थियो जुन बेला आतंककारीहरुले घुसपैठ गर्न खोजेको भारतले आरोप लगाएको थियो ।
जुन बेला पनि भारत पाकिस्तानबीच गोली हानाहान भएको थियो ।

उक्त भिडन्तपछि भारत पाकिस्तान दुबैले आफनो सिमामा सुरक्षा व्यवस्था थप कडा पारेको छ । यता जम्मू कश्मीरकै मुद्धामा रुष्ट बनेको पाकिस्तानले आफु प्रशासित कश्मीरमा पनि भारतले आक्रमण गर्न सक्ने भन्दै बताईसकेको छ । प्रधानमन्त्री इमरान खानले यदि भारतले यद्धको दुस्साहस गरे त्यसको कडा प्रतिकार गर्ने भारतलाई चेतावनी दिँदै आएका छन् ।