ताजा समाचार

श्रावण २९ गते २०७६

लापसे नियन्त्रणमा आमाहरु पनि संगै, के हो लापसे ?

जिल्ला प्रहरी कार्यालयले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मंगलबार शुभारम्भ गरे ।

सो अवसरमा प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । उनले लागुऔषध दुर्व्यसनी विरुद्ध सबै एकजुट हुनपर्ने धारणा राखे ।

लागुऔषध दुर्व्यसनी रहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

‘सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने ।

घरकै सदस्यमा दुर्व्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरूले सघाउने प्रहरीको विश्वास छ ।

‘दुर्व्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरूबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ’, प्रहरी उपरीक्षक भट्टले भने ।

प्रहरीले लागुपदार्थ सेवन गरे/नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ ।

प्रहरीले सामान्य अवस्थाका लागुऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ ।

लामो समयदेखि दुर्व्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।

सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानूनअनुसार कारवाही गर्ने गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुर्व्यसनी रोक्नु स्थानीय तहको पनि दायित्व भएको बताए ।

दुर्व्यसनीमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरू सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए ।

कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन (लापसे) जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो ।

प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो ।