ताजा समाचार

श्रावण २६ गते २०७६

मिस नेपाल अर्थ पृया साझा पार्टीमा

गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

पार्टीको आाइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो। ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देल भन्छिन्, “मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ। तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।”

सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि उत्साहजनक भएको प्रवक्ता डा सूर्यराज आचार्यले बताए ।