ताजा समाचार

श्रावण २६ गते २०७६

लघुकथा – साडी

अफिसबाट फर्केर घर आउँदा श्रीमती ठुस्सिएर बसेको चाल पाएपछि मैले सोधेँ -” होइन आज मुहार अलि मलिनो बनाएकी छ्यौ, सन्चो छैन कि कसो हो ?”

“तिज आउन लागि सक्यो, एउटा साडी किन्ने पैसा दिनु न, भन्दा पनि टार्ने ? म त अब बोल्दिन” , यति भन्दै उनले मुण्टो बटारिन् ।

“वर्षै पिच्छे महँगो साडी किन्न कहाँ सकिन्छ र हिरा? तिम्रो त्यो दराज भरिएर राख्ने ठाउँ नै छैन, ? तिनै मध्ये एउटा झिकेर लगाएर माइत गए हुन्न यो पाला?” मैले आफ्नो बाध्यता देखाउँदै सम्झाएँ ।

” देख्नेहरूले पुराना लगाएर आइछ भन्दैनन् त नि ? मान्छेले पचास पचास हजारका साडी लगाउन थाले। वर्षमा जाबो १८००० को साडी किनिदिन पनि नसक्नेले किन पो बिहे गर्न पर्थ्यो?” बोल्दा बोल्दै उनी आवेशमा आउन थालिन् ।

“ल ल चिन्ता नलेउ भो। एक दुई दिनमा पेश्की लिएर किनिदिउँला” , मैले यति भनेपछि उनको मुहार बल्ल उज्यालियो।

तिज आयो, मैले ल्याइदिएको साडी लगाएर उनी माइत गइन् । हाँसी खुशी फर्केर आएपछि मैले सोधेँ , “हिरा यो साडी देखेर दिदिबहिनीहरूले केही त भनेनन् ?”

“सबैले राम्रो छ, कति सुहाएको छ भनेर तारिफ गरे तर ठुल्दिदिले चाहिँ यो खालको साडी त मैले परार साल देवरको बिहेमा किनेर लगाकी थिएँ भन्नू भयो।

अनि सुन्नु न , हाम्री ठुल्दिदीले पनि पोहर हजुरले ल्याइदिनु भएको मेरो जस्तै साडी लगाएर आउनु भएको थियो। सायद मैले लगाएको देखेर उहाँलाई मन परेको हुनुपर्छ , त्यस्तै रोजेर किन्नु भएछ यो पाला। यति भन्दै उनी भित्र पसिन् ।

मैले मेरो पीडाको मात्र समाधान गरिन ,आर्थिक रुपमा मभन्दा कमजोर रहेका साढु दाइको पीडा पनि कम गर्न सफल भएँ । बाँकी कुरो पछि हेरौंला