ताजा समाचार

श्रावण २४ गते २०७६

पोखराका पत्रकार राजबहादुर गुरुङ पुरस्कारका लागि छानिए

पोखराका पत्रकार तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ पुरस्कृत हुने भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७६’ का लागि छनोट भएका ४ जना पत्रकारमध्ये गुरुङ पनि छनोट भएका हुन् ।

गुरुङ अनलाइन विधाबाट पुरस्कारका लागि छनोट भएको बताइन्छ ।

२०५१ सालदेखि पोखराबाट पत्रकारिता गर्दै आएका गुरुङ युनाइटेड दैनिक र युनाइटेड खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् ।

गुरुङले जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालीन दैनिक, देशान्तर, विमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजनलगायतमा काम गरेका छन् ।

पत्रकार गुरुङसंगै कौशल चेम्जोङ, गणेश राई र शोभा श्रेष्ठ समेत आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् ।

पुरस्कार फोनिजको २० औं स्थापना दिवसका दिन साउन २७ गते प्रदान गरिने फोनिजले जनाएको छ । पुरस्कारको राशी जनही २० हजार रुपैयाँ नगद रहेको छ ।