ताजा समाचार

श्रावण २२ गते २०७६

नेपाल भ्रमण वर्ष प्रवर्दनमा लेकसाइड रोट्र्याक्ट

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु स्वतः स्फूर्त रुपमा यसकोप्रवर्दनमा लागेका छन् ।

पोखराको रोट्र्याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवर्दनमा विविध कार्यक्रम गर्ने भएको छ ।

क्लबले भ्रमण वर्षको सन्दर्भमा १ दिनको पदयात्रा समेत सम्पन्न गरेको छ । पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म गरिएको पदयात्रामा पोखराका ३० जना युवा सहभागी भए ।

नेपालको राष्ट्रिय झण्डासहित भएको पदयात्राका क्रममा युवाहरूले भ्रमण वर्षको पोष्टर तथा पर्चा वितरण गरिएको कार्यक्रम संयोजक मदन क्षेत्रीले बताए ।

पदयात्राको क्रममा रानीवनमा क्लबको नियमित बैठक समेत सम्पन्न गरी विभिन्न निर्णय गरिएको अध्यक्ष युदिप सुवेदी क्षेत्रीले बताए ।

उनका अनुसार नेपालमा पर्यटकको संख्या वृद्धि भइरहँदा त्यसले पोखरालाई सबैभन्दा बढि लाभ मिल्ने हुनाले उनीहरू यसको प्रवर्दनमा लागिरहेका छन् ।

क्लबले आगामी दिनमा यस्ता पदयात्राहरु निरन्तर गर्ने, क्लबका सदस्यले सामाजिक संजालमार्फत यसको प्रचार–प्रसार गर्ने, क्लबका सबै कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गर्ने तथा यसको प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँहरू र विदेशमा समेत कार्यक्रम गर्ने तयारी क्लबले गरेको छ ।

क्लबको नियमित प्रकाशनमा समेत नेपाल भ्रमण वर्षको बारेमा जानकारी समावेश गरिएको र सो प्रकाशनसमेत कार्यक्रमहरुमा वितरण गरिने क्लवकी सचिव रोशनी विश्वकर्माले बताइन् ।