भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा टोलीको आवत-जावत तीव्र

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा नेपाल भ्रमणमा आउने भएपछि अहिलेदेखि नै तयारी तीव्र भएको छ । मोदी भदौ अन्तिमसाता ४ दिने भ्रमणमा आउन लागेको बताइएको छ । 

भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी अहिलेदेखि नै तयारीमा जुटेका हुन् ।

मोदीको भ्रमणको तयारीका लागि भारतीय सुरक्षाकर्मीको एक टोली २ पटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ ।

भारतीय सेनाका उच्चअधिकृतको टोली र कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ ।

त्यसैगरी ‘रअ’ का प्रमुख पनि नेपाल आएर फर्केका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय अहिले चर्चाको शिखरमा छ ।

सरकारले उनलाई नभेटेको भन्दै प्रतिरक्षामात्र गरिरहेको छैन संचारमाध्यमलाई सप्रमाण पेश हुन चुनौती पनि दिइएको छ । 

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको स्पष्ट भए पनि ओलीसंगको भेटलाई लुकाउन खोजिएको छ । 

भारतको छिमेक नीतिमा नेपाल पहिलो स्थानमा रहेको बताउँदै आएका भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले सपथ ग्रहणकै बेलामा गत जेठमा नेपाल भ्रमणको निम्तो दिएका थिए । 

मोदीको भ्रमण भदौ अन्तिम तिर हुने भनिए पनि यसको भ्रमण तालिका भने निश्चित भइसकेको छैन ।