यसरी फ्याँकिन्थ्यो लुतो…

वारी गाउँले, पारी गाउँले : लुतो, पिलो, खटिरा सबै लैजाओ’

हरेक वर्ष १ साउनमा मनाइने ‘साउने संक्रान्ति’ को अवसरमा लुतो फाल्नेक्रममा चारै दिशातिर अगुल्टो फ्याकिँदा व्यक्त गरिने यी पंक्ति दुर्लभ भइसकेको छ ।

बढ्दो सहरीकरण र आधुनिकताको होडबाजीमा साउने संक्रान्तिजस्तो महत्वपूर्ण चाड पछिल्लो समय मीठोमसिनो खाने र पारिवारिक भेटघाटमा सीमित बनेको छ ।
पछिल्ला केही वर्षयता साउने संक्रान्तिमा ब्राह्मण बोलाएर महिना सुनाउने र लुतो फाल्ने चलन दुर्लभ बन्दै गएकोे छ ।

पहिला–पहिला संक्रान्ति बिहान ब्राह्मण घरघर गएर महिना सुनाउने गर्थे । साथीभाई मिलेर लुत्तो फाल्न आवश्यक उन्यु, धसिंगरे, पानी सरोलगायत खोजिने गरिन्थ्यो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले ममहत्वपूर्ण मानिन्छ ।

तर, मकर संक्रान्तिमा जुन महत्व दिएर मनाइन्छ, त्योभन्दा धेरै कम महत्व साउने संक्रान्तिलाई दिने गरिएको छ ।
पहिले–पहिले साँझपख लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन थियो । अहिले त्यो चलन हराइसकेको छ ।

पछिल्लो समय लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही स्थानमा सामाजिक रूपमै फ्याँक्ने संस्कृति कायमै छ । तर, लुतो फाल्ने सामग्री सहजै नपाउँदा पनि संस्कार हराउँदै गएको हो ।

लुतो फाल्न धसिंगरे, उन्यु, कुकुर दाहिने, पानी सरो, देवीसरो, पुरेनी, कागभलायो, गलेनी, कुरिलो, दाउराका चिरा, नास्पाती, आरुलगायत आवश्यक पर्छ । यी सामग्री अहिले पाउन मुस्किल छ । कतिपयलाई यसबारे ज्ञान छैन ।

साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर ‘कण्डारक’ नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।

लुतो फाल्नेक्रममा विभिन्न उन्यू र धसिंगरेसँगै अगुल्टो बालेर त्यसबाट निस्किएको अगुल्टोलाई चारैतिर फाल्ने गरिन्छ ।

सौर्यमानअनुसार साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दूधर्माबलम्बीमा साउनदेखि पितृकार्य थालनी गर्ने प्रचलन छ ।

साउनले नेपाली समाजमा खास गरी हिन्दूधर्मसँग सम्बन्धित परम्पराका चाड भित्र्याउने गर्छ ।
साउने संक्रान्ति किराती समुदायबीच ‘सिसेक्पा तङ्नाम’को नामले मनाइन्छ ।

किराती समुदायमा इष्टदेवको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।