घाँटी थिचेको हटाएर भागेकी हुँ, डिभोर्स मुद्दा हालिसकें

नायिका शिल्पा पोखरलेले पति छविराज ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएकी छन् । सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै उनले भनिन्, ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’

उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् । शिल्पाले अघिल्लो हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडिदिनुहुन्थ्यो ।’

फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् । ‘उहाँ मिडियामा फेरि यसरी हिड्ने हो । अर्काे केटी फसाउनका लागि । अर्काे केटी नफसोस्, यही लागेर अगाडि आएर आएँ ।’

आपसमा विवाद हुँदा छविले भन्ने गरेका शब्द भन्दै उनले थपिन्, ‘एक जनालाई मारिसके, अर्काेलाई मार्दा केही फरक पर्दैन । मेरा नाम पनि आउँदैन ।’ मिडियामा तेरो आवाज, कुरा आउँदैन भनी धम्की दिनेगरेको उनले बताइन् । शिल्पाले थपिन्, ‘तेरो आवाज कसैले सुन्दैन भन्नुहुन्थ्यो । मलाई अहिले सही लाग्यो । मैले दिएका जवाफ काटेर अन्तर्वार्तामा आयो ।’

छविको कुटाइले आफ्नो कानको जाली फुटेको र बाच्नै नसक्ने अवस्था भएकाले छुट्टिनुभएको उनको जिकिर छ । पैसाका लागि छविसँग विवाह गरेको आरोपमा सत्यता नभएको जानकारी दिँदै उनले विराटनगरमा आफ्नो ठूलो उद्योग रहेको बताइन् ।

डिभोर्स फाइल गरिसकेपछि पनि दबाब सामाना गर्नुपरेको उनको भनाइ छ । ‘करिअर धरापमा पर्छ भनेर धेरै जना सम्झाउनु आउनुभयो । अब त्यो घर फर्किन सक्दिनँ भनें मैले,’ उनले थपिन् । त्यो दिन राति घरबाट नभागेको भए आत्महत्याको खबर आउने दाबी गर्दै रुदै शिल्पाले भनिन्, ‘गीताञ्जलीको जस्तै आत्महत्या गरी भन्ने समाचार आउथ्यो होला ।’

यता, शिल्पाका पति छविले भने घर फर्किन आग्रह गर्दै फेसबुक स्टाटस लेखेका छन् ।