शिल्पाले रुदै भनिन्, अब मिल्ने सम्भावना छैन

नायिका शिल्पा पोखरेलले पति छविराज ओझासँग मिल्ने सम्भावना नभएको बताएकी छन् । उनले शान्ति, सुरक्षा माग गर्दै प्रहरीमा ओझा विरुद्ध उजुरी दिएकी थिइन् ।

नायिका रेखा थापासँग सम्पर्कविच्छेदपछि छविले शिल्पासँग विहे गरेका थिए । ३ वर्षअघि विहे गरेका उनीहरुको सम्बन्धमा अहिले दरार आएको छ । शिल्पाले ओझाले कुटपिट गर्दा आफ्नो कानको जालीमा प्वाल परेको बताएकी छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै उनले अब कानुन अनुसार अघि बढ्ने बताइन् । अब माफी मागे पनि सँगै बस्ने सम्भावना नरहेको उनको भनाइ छ । शिल्पाले भनिन्, ‘बस्न सक्दिनँ । मलाई डर लाग्छ । मेरो तर्फबाट मिल्ने सम्भावना छैन । माफी माग्ने धेरै चोटि भएको छ । फेरि उस्तै हो ।’

शिल्पाले लामो समयदेखि सुध्रिएला भनी चूप बसेको बताउँदै उनले जेल हाल्न नचाहेर शान्ति, सुरक्षाको उजुरी दिएको बताएकी छन् । उनले भनिन्, ‘घरेलु हिंसामा हालेको भए जेल हुन्थ्यो । जेल हाल्न मन लागेन । म उहाँ जति गिर्न सक्दिनँ ।’

यता, छवि भने शिल्पालाई अझै आए पनि श्रीमतीको रुपमा स्वीकार गर्ने बताएका छन् ।