गाईवस्तुको गोठ कसरी निर्माण गर्ने ?

परिचय : नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेका छन् । कृषकहरूले गाईभैसीहरू दूध,मल तथा जोत्नका लागि पाल्ने गर्दछ । उन्नत पशुपालनमा गोठ, नश्ल, आहारा र स्वास्थ्य महत्वपूर्ण ४ खम्बाहरू हुन ।

गाईभैंसीको गोठमा घाम, वर्षा, चिसो, छाया, हावा र प्रकाशको समुचित व्यस्थापन नभएकोले गाईवस्तुलाई थप तनाव हुनगई तीनको उत्पादन घट्नुका साथै रोगबाट समेत ग्रसित हुने गरेका छन् ।

गाईवस्तुहरू प्रायःखुला ठाउँमा बाँधेर अव्यवस्थित तरिकाले पालन गर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकिएको छैन । गाइभैंसीको गोठ सुधार गरी जलवायु अनुकुलित गोठ निर्माण अति आवश्यक छ । दिगो कृषि तथा उचित उत्पादन लिनका लागि गाईवस्तुको गोठ जलवायु परिवर्तन अनुकूलित बनाउनु पर्दछ ।

यसरी गाइभैंसीको गोठ निर्माण गर्दा जलवायु परिवर्तनका असर न्यूनीकरण हुनुका साथै घर आँगन सफा भई वातावरणमा सुधारमा समेत सहयोग पुग्ने छ । यस्ता प्रविधि तराई मधेशमा प्रचलनमा बढी नरहेकोले त्यहाँका कृषकहरूलाई बढी फाईदा हुने देखिएकोले स्थानीय तहका योजनामा समेटेर योजना निर्माण गर्दा राष्ट्रको समृद्धिमा टेवा पुर्याउने छ ।

महत्वः गोठ अँध्यारो, सूर्यको प्रकाशन पर्ने, चिसो भएको अवस्थामा उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धि विकास तीब्रभई गाईवस्तु विरामी भईरहन्छ । गोठ हावा नखेल्ने बाफिलो, गोबर पिसावले दुर्गन्धित र चिसो भएमा श्वास प्रश्वास संबन्धि रोगले पशुवस्तुहरू विरामी पर्ने गर्दछन् ।

सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको प्राप्ति हुन्छ । गोठ सुधारले पशुवस्तुको सोत्तर, गोबर र मूत्र व्यवस्थापन हुने तथा घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिनाको तनावलाई घटाई मौसमी तनावले हुन जाने रोगमा कमी हुन्छ ।

यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहाराको प्रभावकारिता बढ्ने हुन्छ । गोठ सुधारबाट गाईवस्तुको गोबर तथा मूत्रको समुचित व्यवस्थापन हुने भएकोले हरित गृह ग्याँस मिथेनको उत्सर्जनमा कमीभई जलवायु परिवर्तनमा समेत कम गर्नेेछ ।

ठाउँको छनौट : गोठ बनाउने ठाउँ ओभानो, उज्यालो, समथर, पानी सजिलैसँग सोसिने र बग्ने तथा निकासको सुविधा भएको हुनुपर्दछ । कम्तिमा दिनमा ५–६ घण्टा सूर्यको प्रकाश पर्ने, जोडसँग हावा नचल्ने तर हावाको आवागमन राम्रो भएका र आरसेनिक मुक्त पानी पाईने ठाउँको छनौट गर्नुपर्दछ ।

गोठको लागि आवश्यक क्षेत्रफलः सुधारिएको गोठका लागि आवश्यक लम्बाई चौडाई, घाँस, दाना र पानीको लागि डुँडको विस्तृत विवरण यहाँ उल्लेख गरिएको छ । उपरोक्त अनुसार गोठ निर्माण गर्दा प्रति बयस्क गाईका लागि ८.३३ फिटलम्बाई र ४.६६ फिट.चौडाई तथा भैंसीका लागि ८.६६ फिट लम्बाई र ५ फिट चौडाई चाहिन्छ । यो लम्बाईको गोठ बनाउँदा पशुको मलमूत्र ठिक नालीमा गई पशुको सुत्ने ठाउँ सफा रहन्छ । ठाउँ ठूलो भएमा पशुहरू वरिपरि घुम्ने र सुत्ने ठाउँमा मलमूत्र जम्मा हुन सक्छ ।

घाँस दाना तथा पानीको डुँडको लागि आवश्यक क्षेत्रः प्रति वयस्क गाईभंैसीका लागि दानाको डुँड ६०–७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ४० से.मि. गहिराई हुनुपर्दछ । जमीनदेखि ९० से.मि.उँचाईमा डुँड बनाउनुपर्दछ जुन जगदेखि दाना खाने भित्रिभाग ५० से.मि.उँचाईमा निर्माण गर्नुपर्दछ । यस्तै बाच्छा बाच्छी र पाडा पाडीका लागि ४०–७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ३० से.मि. गहिराईको हुनुपर्दछ ।

पिउने पानीको डुँड दानाको डुँड जस्तै वयस्क गाई भैंसीका लागि डुँड ६०–७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ४० से.मि. गहिराईको बनाउनु पर्दछ । यस्तै बाच्छा बाच्छी र पाडा पाडीका लागि १० देखि २० से.मि. लम्बाई भएको निर्माण गर्नुपर्दछ ।

गाईभैंसी गोठको भूँई पक्की निर्माण विधिः गोठको भूँई क्षेत्र पक्की, पानीनजम्ने, नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नुपर्दछ । त्यसका लागि सेमेन्ट, गिटी र बालुवाबाट ढलान गरेर, वा ईटा, काठ वा ढुँगा छपाएर गोठको भूई निर्माण गर्नुपर्दछ । सकेसम्म खुला क्षेत्र र नसके बन्द क्षेत्र त अनिवार्य रूपमा सेमेन्टको पक्की बनाउनुपर्दछ ।

भूँई क्षेत्र पक्की गर्दा भूँइ नचिप्लिने तथा खस्रो खालको बनाउनुपर्दछ । समान्यता गोठको सतह १ फुट जति उँच्चो हुनुपर्दछ । गोठको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ०.५ देखि १ प्रतिशत जति भिरालो बनाएर ढलान गर्नु पर्दछ । जस्ले गर्दा सफा गरेको पानी र पिसाव बगेर २० से.मि. चौडा बनाईएको कुलेसोमा जान्छ ।

गोठको छाना निर्माणः छाना बलियो टिकाउ पानी नचुहिने, बाहिरी तापक्रमको छेक्ने तथा आकर्षक हुनु पर्दछ । छानासम्म परेको चाक्लो वा भिरालो हुनुपर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ । छाना खर तथा २५–२६ गेजको जस्ता पाताको हुनुपर्दछ ।

पर्खाल क्षेत्र र भेन्टिलेशनः गोठको पर्खाल एकदमै मजबुत अर्थात बलियो हुनुपर्दछ । पर्खाल बनाउँदा ईटा वा ढुँगाबाट १–१.५ फिट बाक्लो पर्खाल बनाउनुपर्दछ । भिरालो छाना भएको गोठमा अग्लो भागतिर पर्खालको उँचाई ८.३३फिटर बलेनीतिर ५ फिटउचाईको पर्खाल बनाउनुपर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनुपर्दछ । अग्लो पर्खालपट्टि १.५ फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनका लागि द्म्याल बनाउनु पर्दछ ।

मल राख्ने खाडलः प्रतिदिन, प्रतिगाई भैंसीबाट ४० देखि ४५ किलोसम्म गोबर प्राप्त हुन्छ। गोबरमा भएको पोषक तत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध नआउन दिन गोबर सोतरहरूको व्यवस्थापन गर्न मल राख्ने खाल्डो गोठ देखिअलि टाँढा बनाउनुपर्दछ । खाल्डो १०–१३.३३ फिट लम्बाई, १३.३३–१६.६६ फिट चौडाई र ३.३३ फिट गहिराई भएको खन्न्ुपर्दछ । प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउँछ ।

पिसाव जम्मा गर्ने टंकी निर्माणः गाईभैंसीको अधिकांश पिसाव खेर जाने तथा अमोनिया ग्याँस र नाईट्रस अक्साईडले पशुस्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने भएकोले गाईवस्तुको मूत्र संकलनका लागि पिसाव टंकी बनाउनुपर्दछ ।

गोठको भूईभन्दा तल ५० से.मि. लम्बाई चौडाई र गहिराईको सेमेन्टको पक्की टंकी निर्माण गर्नु पर्दछ वा ५० लिटरको प्लाष्टिकको टंकी गाड्नु पर्दछ । गोठको भूँई बनाउँदा ओरालो पट्टि ८ ईन्चको बनाईएको कुलेसोमा १ ईन्च मोटाईको पाईप लगाई पिसाव टंकीमा जोडनुपर्दछ । पिसाव टंकीको मुख छोपेर राख्नु पर्दछ ।

गोठको ढोकाः गोठमा गाईभैंसीका लागि ढोका अलि फराकिलो बनाउनुपर्दछ । ढोका डुँडपट्टि नराखि ओरालो वा गोठको मध्यभागतिर ६ फिटअग्लो र ४ फिटफराकिलो काठ र जस्ता पाताको बनाउनुपर्दछ ।

निश्कर्षः जलवायु परिवर्तनले गाईवस्तुको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन स्थानीय तह गाउँपालिका र नगर पालिकाले गाईवस्तुको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ ।