विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुन सकेको छैन ।
भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत क्षति पुगेको छ ।
आजभन्दा झण्डै २ सय वर्ष पुरानो मन्दिर क्षतिग्रस्त बनेपछि श्रीगणेश तथा भद्रकाली मन्दिर सेवा समितिले पुरातत्व विभागसमक्ष पुनःनिर्माणका लागि पत्राचार गरेकामा विभागको स्मारक संरक्षण शाखाले पूर्ववत् स्वरुपमा पुनःनिर्माणका लागि स्वीकृति दिएको थियो ।
पुनःनिर्माणका लागि स्वीकृति माग भएको झण्डै डेढ वर्षपछि विभागले स्वकृति दिएपछि मात्रै समितिले नक्सांकन, डिजाइनलगायतका अन्य प्रक्रिया अघि बढाएको सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
वास्तुविज्ञ समेतको सहयोगमा नक्सांकनसहितको डिजाइन तयार भएको र यसका लागि रु ४ करोड ८२ लाख लागत अनुमान गरिएको उनले बताए । प्राचीन स्वरुप नबिग्रने किसिमले सिमेन्ट र छडको प्रयोगबिना सुर्की, बज्रप्रयोग गरी मन्दिरको निर्माण गर्न लागिएको छ ।
समितिले तयार गरेको डिजाइन पुरातत्व विभागबाट समेत स्वीकृत भएको अध्यक्ष टीकाबहादुर कार्कीले बताए । स्वीकृत डिजाइनसँगै पोखरा महानगरपालिकामा पुनःनिर्माणका लागि अनुरोध गरिए पनि महानगरपालिकाबाट लागतको ५० प्रतिशत मात्र व्यहोर्ने गरी जवाफ प्राप्त भएको उनले बताए ।
‘झण्डै २ सय वर्ष पुरानो पोखराको गौरव भद्रकाली मन्दिर सबैको साझा सम्पत्ति हो’, उनले भने, ‘यसको निर्माणका लागि समितिले कहाँबाट जुटाउनु लागतको ५० प्रतिशत रकम ।’ सबैको अपनत्वसमेत हुने किसिमबाट १० प्रतिशतसम्म स्थानीय समाजसेवीबाट सहयोग जुटाउन भने सकिने बताउँदै उनले यसका लागि महानगरले सहयोग गर्नुपर्ने धारणा राखे । समितिको सक्रियतामा भद्रकाली मन्दिर क्षेत्रको समग्र विकासका लागि भद्रकाली बृहत गुरुयोजना तयार गरिएको छ ।
मन्दिरको स्वामित्वमा रहेको १ सय ३५ रोपनी जग्गा संरक्षणका लागि पहल थालिए पनि त्यसमा विभिन्न समुदायबाट अवरोध हुँदा कामले गति लिन नसकेको उनको भनाइ छ । समितिले मन्दिरको वरपरको भिरालो भू–भागमा अवस्थित वनजंगललाई संरक्षण गर्दै वरिपरिबाट न्यूनतम ३ मिटर चौडाइ र १ किमी लम्बाइको पदमार्ग निर्माण गर्ने कार्य अघि बढाए पनि विभिन्न समाजका नाममा भएका अवरोधले उक्त कार्य पनि अघि बढ्न नसकेको अध्यक्ष कार्कीले बताए ।
मनोकांक्षा पूरा गर्ने देवीका रुपमा प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा अत्यन्त आस्था र विश्वास बोकेको मन्दिर स्थापनाको इतिहास खोतल्दा विसं १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गरेको र विसं १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।
मन्दिर परिसरमा राखिएको अभिलेखमा स्व. बुद्धिमान ढेवाजु तथा कालिदास ढेवाजुले भद्रकाली माताको प्रतिमा काठमाडौँबाट ल्याई मन्दिरको निर्माण गरी नित्य पूजाआजा सञ्चालन गराएको उल्लेख छ । वरपर जंगलले घेरिएको ढिस्को र माथि मन्दिर रहेका कारण दर्शन र वरपरको दृश्यावलोकन गर्न पनि पर्यटक भद्रकाली मन्दिर आउने गरेको कार्यालय सचिव सूर्यप्रसाद अधिकारीले बताए ।
वरपर जंगलले घेरिएको ढिस्को भएका कारण मन्दिरमा पुग्न फेदीबाट २ बाटो रहेकामा पूर्वी भागबाट २ सय ९२ सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २ सय ६५ सिँढी उक्लनुपर्छ । मन्दिरमा नै पुग्न सिँढी उक्लनुपर्ने भएकाले मन्दिर रहेको ढिस्कोको फेदीमा वरपर पदमार्ग तयार गर्न लागिएको भन्दै अध्यक्ष कार्कीले भने, ‘पदमार्गसँगै मन्दिरको जग्गाको संरक्षण पनि हुने र सिँढी उक्लन नसक्नेका लागि मन्दिर क्षेत्र परिक्रमा गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
पदमार्ग मन्दिर क्षेत्रको प्रदक्षिणा पथसमेत बन्ने उल्लेख गर्दै उनले बिहान बेलुका हिँड्न चाहनेका लागि पनि यो अत्यन्त उपयोगी बन्ने बताए । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष र चैत शुक्लपक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको छ । रासस




