ताजा समाचार

वैशाख २१ गते २०७६

कुल बिग्रेर( लघुकथा )

उकालीको चौपारीमा थकाई मारिरहेको थिए । एकजना युवक छेउमा आएर भने- नमस्कार सर, हजुर त उस्तै हुनु हुदो रहेछ । त्यही माथि माइक बजेतिर त होला । दसौं वर्ष बिताएको ठाँउमा जानै प-यो । मलाई पनि सम्मानको लागि बोलाएको हुदा आएको हुँ, उनले भने । मलाई सात कक्षामा पढाउनु भएको हो नि । धेरै वर्ष भयो, वढदो उमेर काहाँ चिनिन्छ, मैले भने । उनले आफ्नो किशोर जीवनको भोगई सुनाए । हाम्रो गाउँका खुईले साहु बाजे जब घरबाट बाहिर साईत गर्ने बेला हुन्छ उनी कराएर भन्ने गर्दथे – कोहि घरबाट ननिस्क, निस्केका पनि लुक । हामीहरुलाई देखे पछि उनको काम बिग्रन्थ्यो रे । उनको आदेश सुने पछि बाटोमा भएका कोहि काल्लामा र कोहि खोल्सामा लुक्नु पर्दथ्यो । उनको घरमा लैनो र बकेर्नो भैसी कहिल्यै टुट्दैनथ्यो ।वढी भएको महि खोल्सामा घोप्टाउँथे । हाम्रो पेटमा परेमा उनका ठेकाभाडा र कुल कुल्यानले सहदैनथे रे । घरमा अरु नभएको बेला स्कुलबाट फर्कदै गर्दा उनका छोराले मोहि खान दिन्थे । एकदिन मोहि खादै गरेको भेट्टाउदा घरै पुगि बाबालाई गर्नु गाली गरेका थिए ।

हामीहरुवीच यी कुरा हुँदै गर्दा एक वृद्ध लौराको भरमा टुप्लुक्क आइ पुगे । उनी तीनै खुइले साहु थिए । खुइले उनकोे जिस्काउने नाम हो । त्यसैले मैले भने – सन्चै हुनु हुन्छ खालीखोले साहु जी , धेरै वर्ष पछि भेट भयो । के सन्चो भन्नु हेड साहेव । छोरो होकि मोरो हो ले वुढेसकालमा पार्नु पीर प-यो । धन पनि सक्यो । खानु नखानु खान्छ । एउटो उपद्रो गर्नाले चौकीमा राखेका छन् । त्यहि मोरालाई खाना पु-याएर आएको हुँ । यसपालि त ठूलै दशा रहेछ । अघिल्लो महिना मात्र थलिएर खोजिको लागि पोखरा गए । एउटा भगवान जस्तै डाक्टर भेटिए । उनले धेरै सहयोग गरेर मात्र नत्र — । त्यो डक्टर मै त हु नि साहु बा ती युवकले भने । मेरा त आँखा पनि धमीला भैसके । मैले त चिन्न पनि सकिन डक्टर साहेव, नमस्कार छ बाबू ! डक्टर साहेवको घर काहाँ होला ? उनले सोधे । म दलबहादुर बि क को छोरा त हु नि । अोहो ! दलेलाई त एउटै कोखको साक्खै भाइ जस्तो लाग्दछ, उनले भने । कुल बिग्रेर होला साहु बा भन्दै ती युवकले देब्रे आँखा मतिर फर्केर झिकिक्क झिम्काए ।