`म भोकै छु, खान पाइनँ !’ उसले जे थियो, खान दियो । `म नाङ्गै छु, लगाउन पाइनँ !’ उसले भएको लगाउन दियो । `म रोगी छु, उपचार पाइनँ !’ उसले सक्दो उपचार गरायो । `गरिबीको कारण मैले छोराछोरीलाई पढाउन सकिनँ !’ उसले यताउता भनसुन गरेर भएपनि नि:शुल्क पढ्ने ब्यवस्था मिलाइदियो । उसले आफ्ने बुताले भ्याएसम्म सक्दो सहयोग सबैलाई गर्दै रह्यो ।
॰॰॰ `म भोकै छु ।‘ उसले सुन्न छाड्यो । `म नाङ्गै छु ।’ उसले देख्न छाड्यो । `म गरिब छु, … । म रोगी छु … । म अशक्त छु …। …!‘ उसले सुन्दै सुनेन, देख्दै देखेन । आफ्नो मुठ्ठी कसेर बस्यो । कसैलाई केही सहयोग गरेन । आजकाल ऊ आफ्नै खुट्टामा उभिएको छ ।




