पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको ११ महिनापछि बल्ल सो पार्टीले जिल्ला कमिटीहरूको एकता सम्पन्न भएको छ । २००६ मा नेकपा स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर नेकपाले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला कमिटीहरूको एकता सम्पन्न गरेको हो । नेकपालाई एकताको क्रममा सबैभन्दा हम्मे नै जिल्ला कमिटीहरूको एकता टुंग्याउन परेको थियो ।
नेतृत्वको खिँचातानीका कारण यस्तो नेकपाले यस्तो कठिनाई भोग्नु परेको थियो ।
जिल्ला नेतृत्वका लागि पूर्व एमाले र माओवादी केन्द्रबीचको भागबण्डा भन्दा पूर्व एमालेभित्रैको भागबण्डा सबैभन्दा अप्ठेरो विषय बन्न पुगेको थियो । नेतृत्वमा सहमति हुन नसक्दा लामो समयसम्म जिल्ला कमिटीबीच एकता हुन सकेन, जसका कारण जिल्ला कमिटी गठन हुनासाथ नेकपा एकता टुङ्गोमा पुग्ने विश्लेषण समेत यसबीचमा हुन पुगेको थियो ।
केही असन्तुष्टिका बीच सोमबार (९ बैशाख) देखि जिल्ला कमिटीको नेतृत्व चयन गर्ने ‘लफडा’ बाट पार्टी नेतृत्व मुक्त त भएको छ । तर, यसको मतलव यो होइन कि नेकपाका सबै कमिटीहरूको एकता सम्पन्न भइसकेको छ ।
जिल्ला नेतृत्वको लफडा सकिएपनि जिल्ला कमिटीहरूले अझै पूर्णता पाइसकेका छैनन् । त्यसैले, जिल्ला नेतृत्वको घोषणासँगै नेकपाले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको मापदण्ड सोमबारै सार्वजनिक गरेको छ ।
जसअनुसार जिल्ला कमिटीमा साविक जिल्ला कमिटीका सदस्यहरू रहनेछन् । यसैगरी सदस्य संख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले बरिष्ठ र सक्षम कमरेडहरू मध्येबाट थप्न सकिने निर्णय केन्द्रीय सचिवालयले गरेको छ । यसैगरी साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका ‘बरिष्ठ र सक्षम’ सदस्यहरूलाई जिल्ला कमिटीमा संगठित गर्ने निर्णय पनि नेकपाले गरेको छ ।
नेकपा केन्द्रीय सचिवालयले गरेको यो निर्णयका आधारमा पनि के भन्न सकिन्छ भने नेकपामा जिल्ला कमिटीहरूबीचको एकताले अझै पूर्णता पाइसकेको छैन । तर, नेतृत्व चयनसम्बन्धी सबैभन्दा जटिल विषय भने टुंग्याएको छ ।
तर, जिल्ला कमिटी जस्तै अन्य केन्द्रीय निकायहरूको एकता भने नेकपाले अझै टुंग्याउन सकेको छैन । तिनमा विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग र आयोगहरू छन् । नेकपाका पूर्व घटकहरू एमाले र माओवादी केन्द्रका विद्यार्थी, युवा, मजदुर, महिला, कर्मचारी लगायत दर्जन भन्दा बढी जनवर्गीय संगठनहरू छन् । ती संगठनको नेतृत्व कसले पाउने भन्नेमा अझै सहमति जुटेको छैन ।
यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगजस्ता शक्तिशाली आयोग दुबै पार्टीमा छन् । नेतृत्व टुंग्याएर तिनको एकताको सफलता पनि नेतृत्वले पाउन सकेको छैन । दुबै पार्टीका विभिन्न जातीय मोर्चा र संगठन छन् । तिनीहरूको नेतृत्वमा पनि अझै सहमति जुट्न सकेको छैन । नेकपाले अहिलेसम्म टुंग्याएको भनेको केन्द्रीय कमिटी, स्थायी कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी (नेतृत्व) को एकतामात्र हो ।
यसैगरी दुबै पार्टीको अध्यक्ष तहमा पनि एकता भएको छ । जस अनुसार, ‘सहअध्यक्षता’ व्यवस्थाको प्रावधान अनुसार पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) दुबै नेकपाको अध्यक्ष बनेका छन् ।
तर, कम्युनिष्ट प्रणालीमा महत्वपूर्ण र शक्तिशाली मानिने पोलिटब्यूरोको एकता अझै हुन सकेको छैन । आजको कार्यक्रममा नेताहरूले छिट्ट्रै पोलिटब्यूरो गठन गरिने विश्वास दिएका छन् । दर्जन भन्दा बढी जनवर्गीय संगठन, आधा दर्जन जति मोर्चाहरू, पौने दर्जनजति विभागहरू र तीन वटा विभागको एकता अझै टुङ्गिन सकेको छैन ।
यस हिसावले हेर्दा नेकपा एकता करिव पचास प्रतिशत टुङ्गिएको छ भने ५० प्रतिशत एकता हुन बाँकी नै छ । तर, जिल्ला कमिटी नेतृत्व सहमतिमा चयन गरेर नेकपाले एकतामा एउटा महत्वपूर्ण फड्को भने मारेको छ ।




