राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ ।
सरकारले वार्ताका लागि बोलाएपछि राप्रपाले वरिष्ठ नेता दिपक बोहोराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङदेन र वरिष्ठ केन्द्रीय सदस्य निरन्जन थापा को वाता टोली बनाएको हो ।
आइतबार कानुनमन्त्री भानुभक्त ढकालले हस्ताक्षर गरेको पत्रमा सरकारसंग वार्तामा आउनको लागी आव्हान गरिएको थियो । सरकारले राप्रपासँग बैशाख १० गते अपराह्न १ बजे सिँहदरवारमा वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।
राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर देशमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको थियो ।
पछिल्लो समय राप्रपाले हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी विभिन्न आन्दोलन गर्दै आएको छ ।




