सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले थप सरकारलाई थप चेतावनी दिएको छ ।

महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने बताएका हुन् ।
प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुँडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो । त्यसलगत्तै विज्ञप्ति जारी गर्दै चन्दले गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका छन् ।
चन्द नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ । यता सरकारले भने हिंसाको राजनीति छाडेर वार्ताको माध्यमबाट मूलधारको राजनीतिमा नआए विप्लवविरुद्ध कडा ‘एक्सन’ लिने स्पष्ट पारिसकेको छ ।
यता विप्लव समूहले सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।




