बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ । शनिबार बुटवलमा आयोजित कार्यक्रममा रुद्रप्रसाद घिमिरे प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका हुन् ।
घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलासा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र रुपमा उमेदवारी दिएको देखिन्छ ।
तत्कालीन नेकपा एमालेका उमेदवार विष्णु पौडेल निर्वाचित क्षेत्रमा उमेदवारी दिएका घिमिरेले २१ मत प्राप्त गरेका थिए ।
घिमिरेले सयौं सुरक्षाकर्मी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हजारौं कार्यकर्ताको भीडबाट प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका घिमिरेका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




