ज्योतिषीमाथि यसरी खनिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीसँग बिच्किएको उनी आफैंले देखाएका छन् । शनिबार बुटवलको जितगढी किल्लामा आयोजित विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्दा, प्रधानमन्त्री ओली ज्योतिषीमाथि खनिएका छन् ।

नयाँ वर्ष २०७६ लाग्दै गर्दा राजधानीका केही ज्योतिषीले अबको केही महिनामा केपी ओली सत्ताच्यूत हुने भविष्यवाणी गरे । त्यतिमात्रै होइन, एकाथरीले अब ओली हटेर प्रचण्डको भाग्य चम्किने र अर्काथरिले प्रधानसेनापतिले सत्ता चलाउने र राजसंस्था फर्किने ठोकुवा समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि ती ज्योतिषीले गरेको भविष्यवाणी हेरेका रहेछन् । उनले ती ज्योतिषीले गरेको भविष्यवाणी हेरेको शनिबार जितगढीकै कार्यक्रममा खुलाए । उनले भने, ‘ज्योतिषी उचालेर यो वर्ष यो त्यो हुन्छ रे, के हुन्छ ? असार लागेपछि पानी पर्छ ।’

प्रधानमन्त्री ओली थपे, ‘कुनै भ्रम नपाले हुन्छ, दक्षिणावाला ज्योतिषीलाई बकबास नगर्न सल्लाह दिन्छु । बेकारको बकबास गरेर हिँड्याछ दक्षिणाको लोभमा । जनता भ्रममा पर्नेछैनन्, भ्रम नछर ।’

विजयोत्सव समारोहमा ओली बिरुद्ध अर्घाखाँचीका रुद्रप्रासद घिमिरेले कालो झण्डा देखाएका थिए । ओलीले उनलाई कसैले उचालेका होलान् भन्दै केही नगर्न पनि भनेका थिए । साथै उनले विना उद्देश्य क्रान्तिकारी बन्न खोजेको भन्दै विप्लव समूहप्रति आक्रोश पनि पोखे ।