नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट तर काम भ्रष्ट भएको आरोप लगाएका छन् । कांग्रेस पूर्व सभापति सुशिल कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाको बोली प्रष्ट नभए पनि उहाँहरुले काम प्रष्ट गरेको भन्दै नेता गुरुङले वर्तमान प्रधानमन्त्री ओलीको बोली प्रष्ट भए पनि भएका सबै काम भ्रष्ट भएको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा–५ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता गुरुङले भने, ‘सुशिल कोइरालाले संविधान बनाएर आफ्नो जिम्मेवारी पूरा गर्नुभो । वर्तमान पार्टी सभापति देउवाले पनि ३ वटै तहको चुनाव सम्पन्न गर्नुभो । तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली भाषणमात्र स्पष्ट गर्नुहुन्छ तर काम केही गर्नुहुन्न । भएका काम सबै भ्रष्ट प्रवृत्तिका छन् ।’ भ्रष्ट प्रवृत्तिले सुखी नेपाली समृद्ध नेपाल निर्माण हुन नसक्ने नेता गुरुङले स्पष्ट पारे ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिका सदस्य समेत रहेका नेता गुरुङले पार्टीमा अन्तर्घात गर्ने कसैलाई नछोड्ने चेतावनी दिए । उनले भने, ‘पार्टीभित्र अन्तर्घात गर्ने ठूला नेतामाथि कार्वाही हुन्न हुन्न कि भन्ने आशंका व्याप्त छ । तपाइँहरू ढुक्क हुनुहोस्, पद र कद हेरेर उन्मुक्ति कसैले पाउँदैनन् ।’
कास्की कांग्रेसप्रति लक्षित गर्दै नेता गुरुङले कास्कीमा १ से १ नेता भए पनि संगठन कमजोर हुँदा दुःख लागेको बताए । उनले पार्टीका काम छाडेर नेताहरूलाई स्वागत गर्न र फूलमालामात्र लगाउन नजान सुझाव दिए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको भन्दै यसलाई सुधार गर्न जरुरुी रहेको स्पष्ट पारे । उनले पार्टीभित्र गुट नभएको भन्दै गुटगत मानसिकता त्यागेर अघि बढ्न सके कांग्रेस बलियो पार्टी बन्ने बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पार्टीभित्र गुट होइन विचार मिल्ने समूहमात्र भएको बताए । उनले भने, ‘अब गुट होइन, विचार मिल्ने समूहको रुपमा परिभाषित गर्न जरुरी छ ।’ उनले पार्टीका लागि प्रेस अति महत्वपूर्ण भएकाले पार्टीले प्रेसलाई संगसंगै अघि बढाउनुपर्नेमा जोड दिए ।
कांग्रेसका क्षेत्रीय सभापति विजयराज आचार्यले इतिहासको ठूलो पार्टी कांग्रेस जटिल मोडमा उभिएको भन्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने खाँचो औंल्याए । उनले कांग्रेसभित्रको खिचातानीका कारण कम्युनिष्टले देश खाइसकेको भन्दै यसका विरुद्ध सशक्त भएर अघि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले कांग्रेसलाई सशक्त ढंगले असघ बढाउनुपर्नेमा जोड दिए ।
नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाटले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा देशमा दण्डहिनता मौलाएको उल्लेख गरिन् ।
कांग्रेस पोखरा महानगर सचिव रामजी प्रसाद कोइरालाले पार्टीमा अन्तर्घातकै कारण आफू वडाध्यक्षमा पराजित हुन पुगेको भन्दै अन्तर्घातीलाई कार्वाही गर्नुपर्नेमा जोड दिए । उनले पार्टी भित्र अन्तर्घातीहरु राखेर कांग्रेस कहिल्यै अघि बढ्न नसक्ने उनले ठोकुवा गरे ।
वडा सभापति फडिन्द्रराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता पुष्पेन्द्र पाण्डे, हेरम्वप्रसाद कोइराला, भोजबहादुर गुरुङ, हरिप्रसाद पराजुली लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन पार्टी सचिव पार्वतीदेवी कोइरालाले गरेकी थिइन् ।

उक्त अवसरमा कृषि विकास बैंकको सञ्चालक सदस्यमा मनोनित भएका हरि प्रसाद पराजुलीलाई सम्मान गरिएको थियो । पराजुली कृषि विकास बैंकमा ३० वर्ष सेवा गरी हालै सेवा निवृत्त भएका थिए । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा चुनाव लडेका थिए ।




