पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।
प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् ।
‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।
लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले विज्ञप्तीमा जनाएको छ ।
पार्टीले पत्रकार गिरीको तत्काल निशर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।




