फोरम नेपालको प्रस्ताव पछि पार्टी एकतामा कन्फ्युज

एकीकरणका लागि संघीय समाजवादी फोरम नेपालले राखेको सर्तका कारण राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु अप्ठ्यारोमा परेका छन् ।

दुई दलको बीचमा चलिरहेको अनौपचारिक वार्ताका क्रममा फोरम नेपालले एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम राख्नुपर्ने प्रस्ताव गरेको छ । यस्तै फोरम नेपालकै झण्डा र चुनाव चिन्ह राखिनुपर्ने प्रस्ताव पनि गरिएको छ ।

अध्यक्षमण्डलमा एक नम्बरको अध्यक्ष फोरम नेपाल नै रहनुपर्ने प्रस्ताव पनि आएको वार्ता टोलीमा एक सदस्यले बताए । फोरम नेपालका वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ र राजपा नेपालका वार्ता समिति राजेन्द्र महतो बीच बैशाख १ गते अनौपचारिक छलफल भएको थियो ।

पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र एक नम्बरको मर्यादाक्रमको प्रस्ताव फोरम नेपालले राखेपछि त्यसको कुनै ठोस जवाफ राजपा नेपालले दिएको थिएन । वार्ता समिति संयोजक महतोले यो कुरा आफूले पार्टीमा राख्ने बताएका थिए । छलफल महतो निवासमै भएको थियो ।

दुवै पार्टीको तर्फबाट एकीकरणका लागि वार्ता समिति गठन भएपनि हालसम्म औपचारिक वार्ता शुरु नै भएको छैन । अर्को वार्ता बैशाख ८ गते हुने भनिएको छ ।