गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वलाई उसको गतिविधिका कारणले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारेका छन् ।
३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले विप्लव समूहलाई प्रतिबन्ध लगाएका बताएका हुन् ।
मन्त्रि थापाले उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको समेत समेत जानकारी दिएका छन् । तर, उनले मूलधारको राजनीतिमा विप्लवलाई फर्काउन कस्तो प्रयत्न भइरहेको छ भन्नेबारेमा भने केही पनि खुलाएनन् ।
संविधान विरोधी क्रियाकलाप गरेकाले विप्लवका शीर्ष नेताहरु पक्राउ परेको उनले उक्त अवसरमा बताए ।गृहमन्त्री थापाले राज्य विरोध गतिविधि गरेको समयमा सीके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए ।
सुरक्षा परिषद्को भेला डाक्नुको कारणबारे सोधिएको प्रश्नमा उनले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्न आह्वान गरिएको बताए ।
संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिए पनि यसको समाधान छिट्टै निकालिने उनले बताए ।




