के-के गर्दैछ नेपाली कांग्रेस ?

नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको मुख्यालय सानेपामा मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट १ महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ बाट १० दिन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछ ।’ अभियानको नाम ‘हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राखिने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार अभियानका महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सुसूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्य छन् ।
प्रवक्ता शर्माले भने, ‘अभियान केन्द्रदेखि वडातहसम्म सञ्चालन हुनेछन् । जसअर्न्तगत काठमाडौंमाको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले अभियानको उद्घाटने गर्नेछन् ।’

पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विमलेन्द्र निधिले भने, ‘अभियानबाट कांग्रेसका पाँच लाख कृयाशिल सदस्य परिचालन हुनेछन । सद्स्य परिचालन हुनु भनेको पार्टीका लागि राम्रो कुरो हो । यसबाट जनता निराश हुँदैनन, जनतालाई फेरि आशा जाग्ने छ । जनतामा आशा जगाउनु राजनीतिक दलको कर्तव्य हो ।’

पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत सहभागी थिए ।