पार्टीभित्र अन्तरघात गर्नेलाई कार्वाही हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्धताका साथ अघि बढेको बताए।

मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफ्नो पार्टी प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको बताए।

फरक प्रसंगमा उनले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए ।

सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए। कांग्रेसलाई यस्तो खाले हस्तक्षेप सह्य र मान्य नहुने उनले बताए।