नेपाली जनता कृषिमा पनि परनिर्भर हुनु दुखद : नेकपा अध्यक्ष प्रचण्ड

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्खाले दिएको आत्मनिर्भर नेपाल अहिले आएर परनिर्भर हुन गएकोमा दुख ब्यक्त गरेका छन ।

नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, २०७६ को काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।


उनले यो अवस्थाको अन्त्य गर्नका लागि सरकार, निजी क्षेत्र र आम नेपालीले गम्भीर भएर सोच्नुपर्ने सुझाव दिएका छन्। पुर्खाहरूले शिक्षाको अभावमा पनि मुलुक आत्मनिर्भर मात्रै नभएर खाद्यवस्तु निर्यात गरेको तर अहिले शिक्षाको व्यापकताको अवस्थामा पनि परनिर्भर हुनुपरेको भन्दै चिन्ता व्यक्त गरे।


उनले नेपालको कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना रहेको भन्दै यो क्षेत्रको व्यवसायीकरण, विविधिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए। अब सरकारले भूउपयोग नीति लागू गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।

उनले भूउपयोग नीतिमा रहेको अन्तरविरोध अन्त्य गर्नुपर्ने पनि धारण राखे। उनले भूउपयोगको लागि विधेयक बनेको र त्यो कानुन बनेपछि लागू हुने बताए।