मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्छ: मन्त्री अर्याल

अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताएकी छन् ।

पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताइन् ।


उनले अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने बताइन् । सफ्टवेयर विकास गर्नमा ढिलाइ भएको बताउँदै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको बताइन् ।


पहिलो वर्ष आधार र कानून निर्माण गर्दैमा बितेको बताउँदै अब सरकार मुलुकको समृद्धिमा लागेको मन्त्री अर्यालले बताइन् । उनले मुलुकलाई अन्य देशसँग प्रतिस्पर्धा गरी अबको २० वर्षभित्रमा अन्य देशका युवालाई नेपालमा रोजगारका निम्ति आउने बाटो सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरिन् ।