नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको २०७६ सालको क्यालेण्डर विमोचन, शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका लागि धादिङबाट उच्च तहका आधा दर्जन नेता पोखरा आएएका थिए । तर नेतृत्व तहमै रहेका नेता भूमी त्रिपाठी र शालिकराम जमरकट्टेल भने सहभागी थिएनन् ।
उनीहरू कास्कीको जनसम्पर्क मञ्च र गतिविधिप्रति रुष्ट भएको बताइन्छ । केही अघि भएको २ संगठनबीच एकताप्रति उनीहरुले आपत्ति प्रकट गरेका थिए । उनीहरुकै कारण कास्कीको मञ्चमा मतभेद, विवाद र विभाजन आएको जनसम्पर्क मञ्चका नेताहरुको बुझाइ छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व मन्त्री गंगालाल तुलाधरले पार्टी भित्र केही समस्या र विवाद भए पार्टी भित्रै बसेर समस्याको समाधान खोज्न आग्रह गरे । मा नेता तुलाधरले पार्टीका सबै निकाय बीच एकीकरणको प्रक्रियामा रहेकाले केही समस्या अवश्य हुने तर समस्या भए पार्टी भित्रै राख्न सुझाव दिए ।
केही अघि जनसम्पर्क मञ्च छोडेर कास्की जनसम्पर्क मञ्च गठन गरेकाहरुप्रति लक्षित गर्दै नेता तुलाधरले मूल बाटो छोडेर कहीं नपुगिने भएकाले पार्टीमै फर्कन र पार्टीभित्रै आफ्ना समस्या राख्न आग्रह गरे । बाहिर गएका साथीहरुको चित्त बुझाएर संगठन अघि बढाउन जनसम्पर्क मञ्चका नेतृत्वलाई उनले निर्देशन दिए ।
पार्टीको मूल बाटो छोडेर हिंड्दा रवीन्द्र मिश्र र बाबुराम भट्टराईको जस्तो अवस्था हुने भन्दै नेता तुलाधरले छुट्टै संगठन गठन गरेका गोकर्ण अधिकारी र युगमराज अगस्ती लगायतलाई यथाशीघ्र मूल पार्टीमा फर्कन आग्रह गरे ।
उनले पार्टीमा जुन गतिविधि भइरहेको छ त्यसले कार्यकर्तामा निराशा छाएको भन्दै पार्टीको मूल नेतृत्वले यसप्रति ध्यान पुर्याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्र अनुशासन, त्याग र तपस्या भन्ने कुरा हराउँदै गएको भन्दै त्याग र तपस्या के हो नेता रामबहादुर भण्डारीसंग बुझ्न सुझाव दिए ।

नेकपा धादिङका नेता रामबहादुर भण्डारीले देशकै प्रमुख शक्तिभित्र केही तितामीठा कुराकानी हुनु स्वभाविक भएको भन्दै तितालाई बिर्सिएर मीठालाई अंगालेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा कास्कीका नेता कृष्ण थापाले कास्कीमा धादिङ जनसम्पर्क मञ्च निकै नै सक्रिय रहेकाले सिंगो पार्टीको साथ, समर्थन र सहयोग रहने स्पष्ट पारे ।
नेकपा कास्कीका नेता दामोदर वैरागीले धादिङवासीले पोखरामा एक्लो महसूस गर्न नपर्ने भन्दै कास्की पार्टीको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट पारे । उनले सबै एकतावद्ध भएर पार्टीको काममा लाग्न निर्देशन समेत दिए ।
मञ्चका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्कीका नेता वखानसिंह तमु, धादिङका नेताद्वय गुरु बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, धादिङ–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष दिनेश भाई अधिकारी, धादिङ–पोखरा जनसम्पर्क मञ्चका सहसंयोजक रेशम सिंखडा, सचिव कृष्ण धरेल, नेता अर्जुन खतिवडा लगायतले बोलेका थिए ।




