कांग्रेस नेता कृष्णप्रसाद सिटौला बिरामी भएकै हुन् ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । १३औं महाधिवेशन सम्पन्न भएको ३ वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।

विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी दिए ।

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच संख्यामा सहमति भए पनि नामका बारेमा समेत बैठकमा छलफल भएको थियो । डा. शेखर कोइराला र उमाकान्त चौधरीलाई थप्ने सहमति कार्यसम्पादन समितिमा जुटेको छ । यद्यपि कांग्रेस नेता कृष्ण प्रसाद सिटौला बैठकमा उपस्थित नभएपनि उनी निकट रहेका चोधरीलाई कार्यसम्पादन समिति समेट्ने सहमति भएको छ ।

सिटौलाले कार्य कार्यसम्पादन समिति बरिष्ठताको आधारमा हुनुपर्ने, जिल्ला सभापतिहरुको मागअनुसार केन्द्रीय सदस्य पनि वडा तहबाटै निर्वाचित हुनुपर्ने अडान राख्दै आएका छन् । नेता सिटौलाले आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले बैठकमा सहभागी हुन नसकेको बताए ।
सिटौलाले नेपाल विद्यार्थीसँगको तदर्थ समिति गठन गर्दा केन्द्रीय कमिटीले पारित गरेको विधानअनुसार ३२ वर्ष लागू हुनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

सभापति देउवाले बैठक बोलाउने, छलफल गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण बैठक बहिष्कार गर्दै आएको बताएका छन् ।
कांग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत सहभागी थिए ।