नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बम बोकेर बस्ने विप्लव नेकपासंग सरकारले वार्ता गर्न नसक्ने बताएका छन् ।
उनले बन्दूक बोक्न छोडेर वार्ता आउने हो भने विप्लवलाई जहिले पनि स्वागत गर्ने उनले बताए । सिके राउतले आफ्नो पूर्व स्थिति त्यागेर संविधान मान्छौं भनेर मूलधारको राजनीतिमा आएको भन्दै त्यो सफलता भएको नेता पौडेलले बताए ।
संविधानको सीमा नाघेर राउत बाहिर जान नसक्ने दावी पौडेलको छ । बाहिर एउटा र भित्र एउटा हुन्छ भनेर पृथक कुरा नगर्न पनि उनले आग्रह गरेका छन् ।
११ बुँदे सहमतिभन्दा बाहिर कुनै पनि सहमति सरकारले नगरेको दावी पनि पौडेलले गरेका छन् । उनलाई सम्मान पनि गर्नुपर्ने पौडलको भनाइ छ । स्वागतयोग्य कदमलाई अनेक आशंका नगर्न पनि पौडेलले बताएका छन् ।
२ अध्यक्षबारे पौडेलको यस्तो भनाइ
नेकपा महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शारीरिक रुपमा २ वटा भए पनि मानसिक रुपमा १ भएको बताएका छन् । उनले भने, ‘उहाँहरू मेन्टल्ली १ हुनुहुन्छ । २ अध्यक्ष शारीरिकमा २ वटा छन् तर मानसिक रुपमा १ हुनुहुन्छ ।’

उनले भने, ‘कसैले पनि उहाँहरूलाई २ देख्ने प्रयास नगरे पनि हुन्छ । नेकपाभित्र विग्रहको खोजी गर्नेहरू छन् । यो व्यर्थको कोसिस कसैले नगरे पनि हुन्छ ।’
उनले नेकपाभित्रै सरकारको आलोचना भएको बारेमा भने, ‘माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरूले सरकारको विरोध गरेको मलाई लाग्दैन । प्रधानमन्त्री स्वयंले अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार्नु भएको छ ।’
पार्टीमा गुट नभएको दावीसमेत उनले गरेका छन् । पार्टीको अध्यक्ष स्वयंले गुट किन बनाउनु पर्यो ? अध्यक्षले कहीं गुट चलाउँछ ? उनले उल्टै प्रतिप्रश्न गरे ।
उहाँहरूबीचका छलफलहरू सबै कुराहरू बाहिर नआउने भन्दै पौडेलले बाहिर नआएका कुरालाई गोप्य भन्ने हैन भन्दै स्पष्ट पारे, ‘ओलीज्यूले ५ वर्ष सरकारको नेतृत्व सम्हाल्नेमा शंका नगरौं ।’
उनले अगाडि थपे, ‘पहिलो तथ्य यो भए पनि २ अध्यक्षलाई १ अध्यक्ष बुझ्नुस् । त्यो गलत हो । उहाँहरू एउटै हो ।’ यसबाट भने उनले प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्ने संकेत गरेका छन् ।
बाहिर चर्चामा ५ वर्षे सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने भएको छ । यदि यो हो भने महासचिव पौडेलले गरेको तर्क सही हुन सक्छ । दिमाग एउटै चलेपछि शरीर फेरिरहँदा के भयो र । कहिले ओली प्रधानमन्त्री त कहिले प्रचण्ड प्रधानमन्त्री ।





